© 2026
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकामा पछिल्ला वर्षहरूमा व्यवसाय दर्ता, नवीकरण तथा व्यवसाय सूचिकृत गर्ने क्रम उल्लेख्य रूपमा बढ्दै गएको छ ।
स्थानीय स्तरमै व्यवसाय सञ्चालनलाई कानुनी दायरामा ल्याउने अभियान प्रभावकारी बन्दै जाँदा नयाँ व्यवसाय सुरु गर्ने र पुराना व्यवसाय नवीकरण गर्नेको सङ्ख्या हरेक वर्ष बढिरहेको हो ।
गाउँपालिकाको राजश्व शाखाका अनुसार चालु आर्थिक वर्षमा ९८ वटा व्यवसाय सूचिकृत भएका छन् भने ७० वटा नयाँ व्यवसाय दर्ता भएका छन् । त्यस्तै, १७१ वटा व्यवसाय नवीकरण गरिएको छ । गाउँपालिकाकी राजश्व शाखा प्रमुख मिना कुमारी श्रेष्ठले व्यवसाय दर्ता, नवीकरण तथा सूचीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम प्रभावकारी बनेपछि व्यवसायीहरूमा कानुनी प्रक्रिया पूरा गरेर व्यवसाय सञ्चालन गर्नुपर्ने चेतना बढेको बताइन् ।
उनका अनुसार केही वर्ष अघिसम्म यहाँका अधिकांश व्यवसाय नेपालगन्ज उद्योग वाणिज्य सङ्घ तथा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा दर्ता हुने गरेका थिए । तर गाउँपालिकाले स्थानीय तहबाटै व्यवसाय सूचिकृत तथा दर्ता कार्यक्रम सुरु गरेपछि व्यवसायीहरू आफ्नै पालिकामा सेवा लिन थालेका हुन् ।
पालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित व्यवसायको वास्तविक तथ्याङ्क सङ्कलन गर्ने उद्देश्यले गत वैशाख १४ गतेदेखि वडा नम्बर ३ बाट व्यवसाय दर्ता शिविर सुरु गरेको थियो । त्यसपछि पालिकाका सबै वडामा पालैपालो शिविर सञ्चालन गरियो । शिविरमार्फत व्यवसायीहरूले आफ्नै वडाबाट व्यवसाय सूचिकृत, नयाँ दर्ता तथा नवीकरण सेवा सहज रूपमा प्राप्त गरेका थिए ।
व्यवसाय दर्ता, सूचीकरण तथा नवीकरण अभियानबाट चालु आर्थिक वर्ष २०८२/०८३ मा गाउँपालिकाले एक लाख ९४ हजार ६ सय ३५ रुपैयाँ राजश्व सङ्कलन गरेको जनाएको छ ।
स्थानीय व्यवसायीहरूले वडा स्तरमै शिविर सञ्चालन हुँदा समय र खर्च दुवै बचत भएको बताएका छन् । राप्ती सोनारी–३ भवानीयापुरस्थित अर्पण होटल तथा किराना पसल सञ्चालन गर्दै आएका महेश रत्गैयाँले पहिले सामान्य दर्ता वा नवीकरणका लागि पालिकाको कार्यालय अगैया पुग्नुपर्दा अटो भाडामै पाँच सय रुपैयाँभन्दा बढी खर्च हुने गरेको सुनाए । “वडामै शिविर सञ्चालन भएपछि पैसा र समय दुवै बचत भयो,” उनले भने ।
कुनै समय सुगम जिल्लामै दुर्गम क्षेत्रका रूपमा चिनिने राप्ती सोनारी अहिले बिस्तारै आर्थिक गतिविधिको केन्द्र बन्दै गएको देखिन्छ । हुलाकी सडक निर्माण तथा राप्ती नदीमा पुल बनेपछि यातायात पहुँच सहज भएको छ भने त्यसको प्रत्यक्ष प्रभाव साना उद्योग तथा व्यवसाय विस्तारमा समेत देखिन थालेको स्थानीयहरू बताउँछन् ।