Butwal Today

प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनुभएको छ, बैठकलाई कार्यसूचीमा अगाडि बढाऔँ: सभामुख अर्याल

१२ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ ।  सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद् बैठकमा उपस्थित हुने जानकारी गराउँदै बैठक सञ्चालनमा सहयोग गर्न विपक्षी दलहरूसँग आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएपछि सभामुखले सो आग्रह गरेका हुन । बैठकमा सभामुख अर्यालले विपक्षी बेन्चमा रहेका सांसदहरूलाई आसन ग्रहण गरेर बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरे ।

“सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको विषयमा प्रधानमन्त्री जानकार हुनुहुन्छ”, उनले भने ।

सभामुखको आग्रहको बाबजुद प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले संसद्मा प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै विरोध जारी राखेका छन् । प्रतिनिधिसभाको आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलहरूले विरोध सुरु गरेका हुन् । विपक्षी दलहरूले सदनमा उपस्थित भएर आफ्ना दृष्टिकोण राख्न तथा आमजनतालाई उत्साहित बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रमुख सचेतक वासना थापाले सरकारबाट प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने प्रयास भइरहेको आरोप लगाउँदै प्रतिपक्षको आवाज सुनेर साझा राष्ट्रिय ‘एजेन्डा’ स्थापित गर्न सुझाव दिइन ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नको जवाफ दिएर सरकार सदनप्रति जबाफदेही हुनुपर्ने बताए । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले विपक्षीको अवरोधका बिच सदनको कामकारबाही अघि बढाउनु उचित नहुने बताए ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले प्रधानमन्त्रीले सदनमा उपस्थित भएर जनताको आवाज सुनिदिन आग्रह गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक खुश्बु ओलीले लोकतन्त्रमा संवाद नै पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर जनताको आवाज सुन्न अनुरोध गरिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?