Butwal Today

वन डढेलो नियन्त्रणमा लापरबाही गर्ने सामुदायिक वन अध्यक्षलाई मुद्दा शाखामा उपस्थित हुन निर्देशन

११ जेष्ठ २०८३, सोमबार
अ+
अ-
अर्घाखाँची । डिभिजन वन कार्यालय अर्घाखाँची ले जिल्लाभित्र वन डढेलोका घटना बढ्दै गएपछि सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूलाई कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
कार्यालयद्वारा जारी सूचनामा जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा हाल वन डढेलोका घटना भइरहेको उल्लेख गर्दै सम्बन्धित उपभोक्ता समूहहरूले समयमै घटनाको रिपोर्टिङ, नियन्त्रण तथा व्यवस्थापन कार्यमा अपेक्षित जिम्मेवारी र सक्रियता नदेखाएको आरोप लगाइएको छ।
सूचनाअनुसार कतिपय वन क्षेत्रमा एक दिनभन्दा बढी समयसम्म डढेलो भइरहँदा समेत सम्बन्धित समूहले कार्यालयलाई जानकारी नदिएको, नियन्त्रण कार्यमा बेवास्ता गरेको तथा आवश्यक समन्वय नगरेको पाइएको जनाइएको छ।
यसै कारण वन क्षेत्रमा डढेलो नियन्त्रण तथा व्यवस्थापनमा लापरबाही देखिएका सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरूलाई अनिवार्य रूपमा कार्यालयमा उपस्थित गराउन सम्बन्धित सबै सब-डिभिजन वन कार्यालयहरूलाई निर्देशन दिइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताएका छन् ।
कार्यालयले यस्तो गतिविधिलाई गम्भीर रूपमा लिँदै आवश्यक कारबाही तथा छलफलका लागि सम्बन्धित अध्यक्षहरूलाई मुद्दा शाखामा उपस्थित हुन सूचित गरेको जनाएको छ।
वन डढेलोका घटनाले वन सम्पदा, जैविक विविधता तथा वातावरणमा गम्भीर असर पारिरहेको अवस्थामा डिभिजन वन कार्यालयले जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउने सङ्केतसमेत गरेको छ।सामुदायिक वन क्षेत्रमा भएका घटनाको जिम्मेवार समूह नहुने भन्ने हुन सक्दैन ।
कार्यालयले समूहले जबाफदेहिता र जिम्मेवार बनाउन यो अभियान चालेको सूचना अधिकारी वन अधिकृत केशव खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?