Butwal Today

सीमामा फेरि मौलायो तस्करी

सुरक्षा निकायले तस्करी नियन्त्रणमा सक्रिय रहेको दाबी गरे पनि सीमामा निगरानी फितलो भएको र केही स्थानमा प्रहरीकै मिलेमतो रहेको आरोप स्थानीयले लगाएका छन् । सीमामा महिला तथा बालबालिकालाई समेत प्रयोग गरेर हुने अवैध कारोबार रोक्न स्थानीय तह, सुरक्षा निकाय, भन्सार र नागरिक समाजबिच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन् ।
११ जेष्ठ २०८३, सोमबार
अ+
अ-

सुनवल । पश्चिम नवलपरासीको सीमावर्ती नाका हुँदै तस्करी बढेको छ । केही स्थानमा प्रहरीसँगको मिलेमतो र केही स्थानमा निगरानी फितलो हुँदा भारत तर्फ अवैध रूपमा समान पठाउने र भित्र्याउने क्रम बढेको पाइएको छ ।

पछिल्लो केही दिन यता सीमावर्ती भारतीय बजार क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालबाट अवैध रूपमा पठाइएका समान धमाधम नियन्त्रणमा लिइरहेको छ ।

पाल्हीनन्दन गाउँपालिका नजिक पर्ने भारतीय सीमावर्ती बजार बर्गदवामा एसएसबीले ९८ बोरा फर्सीको बियाँ (बिउ) बरामद गरेको छ । नेपालबाट भारततर्फ तस्करी गरिएको उक्त फर्सीको बिउ भारतीय सीमा सुरक्षा बलले भारततर्फ प्रवेश गर्ने बित्तिकै पक्राउ गरेको हो ।

यस्तै गत शुक्रबार प्रतापपुरको झुलनीपुर नाका क्षेत्रमा पनि एसएसबीले चाइनिज लसुन बरामद गरेको थियो । एसएसबीले बिहान तीन बजेको समयमा साइकलमा लोड गरेर भारततर्फ लगिएको लसुन बरामद गरेको हो । दैनिक जसो भारतीय सीमा सुरक्षा बलले साना ठुला परिमाणमा नेपालबाट पठाइएको तस्करीको समान बरामद गरिरहेको छ ।

यसै गरी भारत तर्फबाट पनि तस्करी गरेर धमाधम समान नेपालतर्फ भित्रिरहेको छ । केही समय ठप्प प्रायः बनेको तस्करी पछिल्लो समय मौलाउँदै गएको छ । भारतबाट नेपाल भित्रिने सामग्रीको निगरानी गरिरहेको बताउने सशस्त्र प्रहरी र जनपथ प्रहरीको भूमिका प्रभावकारी हुन सकेको छैन । पश्चिम नवलपरासी हुँदै भएको तस्करीको ४० लाख बराबरको सामान पूर्वी नवलपरासी प्रहरीले गत आइतबार नियन्त्रणमा लिएको छ ।

मोबाइलका कभर सहित विभिन्न सामग्री, स्मार्ट वाच, जुत्ता चप्पल बोकेको तस्करीको ट्रक प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको रजहरबाट नियन्त्रणमा लिएको हो ।

पश्चिम नवलपरासीका विभिन्न स्थानमा हुने प्रहरीको चेकजाँच पार गरेर गएको उक्त ट्रकमा कसैको नजर परेन । अहिले भारततर्फ लसुन, फर्सी र खरभुजाको बियाँ (बिउ) लगायत विभिन्न खाद्यान्न सामग्रीको तस्करी भइरहेको छ भने भारतबाट कपडा, मोबाइल पार्टस, टायल मार्वल, हार्डवेयरका समाना, कुखुरा, खसीबोका, भैँसी लगायतको अवैध आयात भइरहेको स्रोत बताउँछ ।

नवलपरासीबाट सरुवा भएर जान लाग्नुभएका प्रहरी उपरीक्षक अनुपन श्रेष्ठले जिल्लामा तस्करी नियन्त्रणमा आफ्नो कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गरे । झन्डै १३ महिना जिल्ला प्रहरीको नेतृत्व गरेका श्रेष्ठले अघिल्लो समयावधिको तुलनामा ८ करोड राजश्व धेरै संकलन गरेको बताउँदै तस्करी नियन्त्रणमा उल्लेख्य काम गरेको दाबी गरे । तर पछिल्लो समय सिमानाकाको अवस्था भने प्रहरीको दाबी जस्तो छैन ।

सशस्त्र प्रहरी बल २६ नम्बर हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक गोविन्द खातीले पनि तस्करी नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको दाबी गर्दै आएपनि सिमामा पहिलो सुरक्षामा खटिने सशस्त्र प्रहरीले तस्करी बढ्दा समेत कडाई गर्न सकेको छैन ।

डिआईजीका घुमुवा र तस्करबिच हात हालाहाल
लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट सीमा क्षेत्रमा हुने अवैध कारोबारको निगरानीका लागि भन्दै आएका अनुगमन प्रहरी (घुमुवा) र तस्करबिच विवाद हुने क्रममा तस्करको समूह प्रहरीमाथि नै जाइलागेको छ ।

स्रोतका अनुसार पाल्हीनन्दनको सनईमा कुखुरा तस्करी भइरहेको सूचनाको आधारमा पुगेको सादा पोसाकको प्रहरी टोलीलाई तस्करको समूहले ठुला तस्करलाई छाड्ने सानालाई समात्ने भन्दै धक्कामुक्की गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले उक्त घटनाको पुष्टि गर्दै घटनामा संलग्न पाल्हीन्दनको चमनटोलाका इमरान अली मनसुरीलाई पक्राउ गरेको जानकारी दिएको छ । ती व्यक्ति माथि अभद्र व्यवहारमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

पहिले खुल्ला रूपमा तस्करी हुने गरेको कुखुरा पछिल्लो समय झोलामा राखेर नेपाल भित्र्याइने गरेको छ । एउटा मोटरसाइकलमा आठ÷दश वटा सम्म झोला हालेर नेपाली बजारमा पु¥याउने गरेको सीमा क्षेत्रका स्थानीयहरू बताउँछन् ।

मासु बिक्री गर्ने व्यवसायीहरूका अनुसार झोलामा मरेको कुखुरा ल्याएर सस्तोमा बेच्ने कार्य समेत पछिल्लो समय फस्टाएको छ । तर प्रहरी मात्रै होइन् यसप्रति अन्य सरोकारवाला निकायको समेत ध्यान जान सकेको छैन ।

जनताको स्वास्थ्यमाथि चरम खेलवाड हुँदा समेत नियामक निकाय मौन छन् । लुम्बिनी प्रदेशमा प्रहरी नायव महानिरीक्षकले प्रहरी निरीक्षकको नेतृत्वमा अनुगमन प्रहरी टोली परिचालन गर्ने गरेका छन् ।

डिआईजी भुपेन्द्र बहादुर खत्रीको निर्देशनमा खटिने टोलीले विशेष गरी तराईका जिल्लाहरूमा अवैध कारोबारको नियमन गर्ने गरेको बताइँदै आएको छ तर धेरैले डिआईजीको टोली पैसा उठाउन केन्द्रित भएको आरोप लगाउने गरेका छन् । सीमा क्षेत्रमा महिला बालबालिका समेत प्रयोग गरेर समान भित्र्याउने र बाहिर पठाउने काम अवैध रूपमा हुँदै आएको छ ।

सीमावर्ती क्षेत्रमा महिला तथा बालबालिकालाई समेत प्रयोग गरी अवैध रूपमा सामान ओसारपसार गर्ने कार्य भइरहेको भन्दै स्थानीयले प्रभावकारी अनुगमन र नियन्त्रणको माग गरेका छन् । सुरक्षा निकायले सीमामा संयुक्त निगरानी, नियमित गस्ती तथा सूचना सङ्कलनलाई थप प्रभावकारी बनाउने तयारी गरिरहेको जनाएको छ ।

सरोकारवाला निकायले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि स्थानीय तह, सुरक्षा निकाय, भन्सार कार्यालय र नागरिक समाजबिच समन्वय आवश्यक रहेको बताएका छन् । सीमामा कडाइसँगै वैधानिक व्यापार प्रवर्द्धन, रोजगारी सिर्जना र जनचेतना अभिवृद्धि गर्न सके मात्रै तस्करी नियन्त्रण दीर्घकालीन रूपमा प्रभावकारी बन्ने उनीहरूको धारणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?