Butwal Today

पश्चिम नेपाल सहकारीद्वारा सहचालक स्व. रानाको परिवारलाई १५ लाख रुपैयाँ राहत रकम प्रदान

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

बुटवल । पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले पटकपटक सामाजिक उत्तरदायित्व अन्तरगत एकजना सहचालकको परिवारलाई सहयोग गरेको छ ।

काठमाडौंबाट भैरहवातर्फ आईरहेको यात्रुबाहक बसमा केही व्यक्तिले गरेको आक्रमणबाट निधन भएका सह–चालक कोपिल रानाको परिवारलाई १५ लाख रुपैयाँ राहत रकम प्रदान गरिएको छ। हालसम्म ६ जनाका परिवारलाई (बस ब्यबसायी, चालक र सहचालक) १५ देखि २२ लाखसम्म बिमा तथा राहत रकम प्रदान गरिसकेको छ ।

पाल्पाको तानसेन नगरपालिका–१० निवासी स्व. राना लु.प्र.०१–००१ ख ०१२८ नम्बरको बसमा सहचालकको कर्तब्य निर्वाह गर्ने क्रममा गत २०८२ फागुन १७ गते काठमाडौँबाट भैरहवा फर्कने क्रममा भएको दुःखद घटनामा परि निधन भएको थियो। आफ्ना सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको यस सहकारीले बचत तथा ऋण प्रवाहसँगै सदस्यहरूको जीवनमा आइपर्न सक्ने जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.मा आबद्ध यातायात व्यवसायी, कर्मचारी, मजदुर तथा उनीहरूका परिवारबीच आपसी सहकार्य र सहभावनाका साथ स्थापित पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुःखको घडीमा फेरि एकपटक मानवीय संवेदनशीलताको उदाहरण प्रस्तुत गरेको अध्यक्ष दधिराम खरेलले बताए।

अध्यक्ष खरेलले सहकारीेका सदस्य तथा सहचालक स्व. राना मेहनती, मिलनसार र आफ्नो जिम्मेवारीप्रति सदैव इमानदार रहेको बताउदै रानाको असामयिक निधनले परिवारमात्र होइन, सम्पूर्ण यातायात क्षेत्रलाई नै स्तब्ध र भावविह्वल बनाएको बताए।

अध्यक्ष खरेलले भावुक हुँदै भने—“घरको अभिभावक गुमाउनुको पीडा शब्दमा व्यक्त गर्न सकिँदैन। परिवारका सपना, आशा र भरोसाको आधार बनेका एक सदस्य अचानक गुम्दा सिर्जना हुने खालीपन कहिल्यै पूर्ति हुन सक्दैन।”

यस्तै असहज परिस्थितिमा सहकारीले “दुःखमा पनि हामी साथमै छौं” भन्ने भावना आत्मसात गर्दै स्वर्गीय रानाको परिवारलाई दुर्घटना बीमा बापत रु. १५ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरेको प्रालिका प्रबन्ध संचालक रामचन्द्र भुसालको भनाई छ। यो सहयोग केवल आर्थिक सहायता मात्र नभई पीडामा मल्हम लगाउने आत्मीय साथ, सहानुभूति र मानवीय उत्तरदायित्वको प्रतीक बनेको संचालक भुसालको भनाई छ।

सहकारीको यो कदमले सदस्यहरूबीचको सम्बन्ध केवल कारोबारमा सीमित नभई सुख–दुःखमा एकअर्काको साथ बन्ने भावनात्मक सम्बन्ध पनि हो भन्ने सन्देश दिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरिक्षक निशान थापाले बताए।

सदस्यहरूको आर्थिक तथा सामाजिक जीवनस्तर उकास्ने उद्देश्यले स्थापना भएको यस सहकारीले बचत तथा ऋण प्रवाहसँगै सदस्यहरूको जीवनमा आइपर्न सक्ने जोखिम न्यूनीकरणका लागि दुर्घटना बीमा सुविधा समेत उपलब्ध गराउँदै आएको जनाएको छ ।

सञ्चालक मोहन पिएसले गत चैत्र १८ गतेदेखि २४ गतेसम्म संचालन गरिएको साधारण सभामा रक्तदान गरेका रक्तदाताहरुलाई सो अवसरमा सम्मान समेत गरिएको बताए । त्यस्तै सहकारीबाट यसअघि ६ जना चालक तथा मजदुर शेयरसदस्यहरुलाई मृत्यू पश्चात उनका परिवारलाई दुखको घडीमा थोरै भएपनि सहयोग होस भन्ने हेतुले रकम हस्तारन्तरण गरेको सञ्चालक पिएसको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?