Butwal Today

कार्यान्वयन र नतिजामुखी बजेट ल्याउँछौँ: आर्थिक मामिला मन्त्री कार्की

१० जेष्ठ २०८३, आइतबार
अ+
अ-

लुम्बिनी ।  लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी, नतिजामुखी र व्यावहारिक बनाइने बताएका छन् ।

लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको आवधिक योजनाले निर्दिष्ट गरेका सङ्कल्प र प्रदेशसभा सदस्यहरूले दिएका सुझावका आधारमा बजेट निर्माण गरिने उल्लेख गरे ।

उनले पर्यटन, उद्योग र रोजगारीलाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताउँदै पुँजी तथा प्रविधिको विस्तारमा विशेष जोड दिइने जानकारी दिए । कृषि क्षेत्रको आधुनिकीकरण, प्राङ्गारिक उत्पादन प्रवर्द्धन तथा उत्पादनमा विविधीकरणमार्फत रोजगारी र आयआर्जन सृजना गर्ने नीति सरकारले लिएको उनको भनाइ थियो ।

मन्त्री कार्कीले बजेटलाई प्रभावकारी र कार्यान्वयनयोग्य बनाउने विषय सबैको साझा सरोकार भएको उल्लेख गर्दै कार्यान्वयनमा नवीनता ल्याइने बताए ।

बैठकमा प्रदेशसभा सदस्य बैजनाथ कलवार, दिलकुमारी बुढा, तारा थापा, रेवती गुरुङ, चन्द्रकेश गुप्ता, मीना बुढामगर, शान्ति लोध, मीनाकुमारी श्रेष्ठ, मधुसुदनशरण चौधरी/कुर्मी, सुरुल पुन तथा वसन्ती न्यौपानेले विभिन्न विषयमा धारणा राखेकी थिइन ।

छलफल सम्पन्न भएपछि सभामुख तुलाराम घर्तीमगरले ‘लुम्बिनी प्रदेश सरकारको विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकता’ माथिको छलफल समाप्त भएको घोषणा गरे।

प्रदेशसभाको अर्को बैठक जेठ ११ गते सोमबार दिउँसो १ः०० बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?