© 2026
निसन्देह संसार उज्यालो शिक्षाले हुन्छ । भनिन्छ, “एजुकेशन इज द लाइट अफ लाइफ” । अनि “बोट विरुवाहरू गोडमेलले फस्टाउँदछ, मान्छे शिक्षाले समुन्नत हुन्छ ।” अझ भनाई छ– “एजुकेशन इज द फाउण्डेशन अफ डिभेलप्मेन्ट” विकासका पूर्वाधारहरू मध्येकै छाता पूर्वाधार शिक्षा नै हो ।
हरेक क्षेत्रको विकासको पूर्वाधारलाई आधार पक्षहरू ज्ञान, सिद्धान्त, दक्ष जनशक्ति, विभिन्न उपकरणीय शिक्षा आदि तयार तथा उत्पादन गर्ने फ्याक्ट्री शिक्षा नै हो । यो मानवको नैसर्गीक अधिकार भन्नेमा मतभेद नहोला ।
तथापि सबै विधा, पक्ष र क्षेत्रलाई ज्ञान सप्लाई गर्ने छाता ज्ञान शिक्षा स्वयंम् अहिले अन्योलमा छ । लोकतान्त्रिक गणतन्त्रको शिक्षा प्रणााली अर्थात शिक्षा क्षेत्र अझै सर्बत्र आलोचित भईरहँदा अन्तर्राष्ट्रिय आलोचकहरूका आलोचना सार्थक लाग्छ ।
जर्ज सन्टाएर्नाको आलोचना छ –‘विद्यालयको शिक्षामा मात्र भर पर्ने व्यक्ति अशिक्षित हो । अल्बर्ट आईन्स्टाइनको आलोचना छ– ‘स्कुलमा पढेको बिर्सेपछि जे रहन्छ त्यो नै विद्या हो ।’ अमेरिकन शिक्षाविद् तथा समालोचक जोन हल्टले ‘स्कुल इज ब्याड फर चिल्डे«न’ भनेर लेख नै लेखे ।
पढ्दै नपढी व्यावहारिक ज्ञान हुनु, पढाइपछि पनि व्यावहारिक ज्ञान नहुनुभन्दा हजारौँ गुना राम्रो हो भन्ने व्यङ्ग्यात्मक धारणा प्रहार गर्छन् रावर्ट बी. इन्जरसल । ‘विद्याका साथ जीवनको आदर्श केही उच्च हुँदैन भने पढ्नु व्यर्थ छ’ भन्ने टिप्पणी महात्मा गान्धीको थियो । चरम नाफामुखी बन्दै गएको शिक्षा नेपालमा औद्योगिकरणको मार्ग अवलम्वन गर्दे अघि बढ्दैछ ।
शैक्षिक उद्देश्य हासिल गर्न दक्ष जनशक्ति लगायत समाज र राष्ट्रलाई आवश्यक शैक्षिक सरोकारका हरेक पक्षहरू उत्पादन गर्ने उद्योग नभएर बजारमुखी, अर्थमुखी, किफाइत केन्द्रित पुँजीवाद तथा बुर्जुवा ओधोगिकरणमा परिणत भएको छ ।
शिक्षामा औद्योगिकरणको मतलव लगानी, उत्पादन, बजार, डिस्ट्रीब्युटर, डिलर, सव–डिलर, होलसेल, खुद्रा हुदै ग्राहकका प्रकृयामा बानी परिसकेको छ । जबकि हरेक मानिसको नैसंर्गिक तथा मानव अधिकारको कुरा शिक्षा त्यो ढङ्गको औद्योगिकरणमा परिणत हुँदा कतिसम्म व्यापारीकरण भएको रहेछ भन्ने कुरा लाटोले पनि अड्कल पाउन सक्छ ।
यहि औद्योगिकरणको सञ्जालको कब्जामा रहेको शिक्षाविद, विशेषज्ञ, शिक्षक वा प्राज्ञिक तथा वौद्घिक जगतवाट अपहरित भएको छ । शिक्षाको ठेक्का पत्रकारिताले, उद्योगपतिले, साहुमहाजनले, दलालले, प्रकाशन गृहले, वैदेशिक नेपाली यात्रुले र राजनीति तथा राजनिितक दलहरूले लिएको छ ।
शिक्षामा सबैको पहुँच नीतिलाई खिज्याउदै र ब्यंग्य गर्दे संख्याको हिसावले मुठ्ठीभर र भुगाोलको हिसावले लगभग पाँच प्रतिशतको कब्जामा कैद हुन पुगेको छ शिक्षा । विदेशी स्ट्यान्डर र शैलीका टाईसुटमा सजिएका विदेश पढेका एकाध सहरका आकर्षक कलरका फोटा र युरोप, अमेरिकाका उत्कृष्ट कलेज, स्कूलका जिव्रो वटारेर उच्चारण गर्नुपर्ने लोकतान्त्रिक नाम सहितका हाइफाइ डिजाइनका नगन्य संख्याका भवनहरूका फुल पन्नाका विज्ञापन छाक टार्न नसक्ने नेपाली जनताले शिक्षा भनेर पढ्न वाध्य छन् ।
यी मुठ्ठीभर वर्गका जय, विजय गराउने काम पत्रकारिता वा आम सञ्चार माध्यमले पनि गरेको छ । काठमाडौँ, पोखरा लगायतका नगन्य प्रतिशत शहरी भूगोलमा फस्टाएको शिक्षा तिनै मिडिया स्रोत मार्फत मुलुकभर भ्रम छर्न सफल छ र सवै वर्गको मनोविज्ञान कब्जा गरी शिक्षा विक्री गर्न सफल छ ।
दश रूपैया तिरेर विभिन्न सूचना लिन किनेको अखवारैभरि शहर केन्द्रित शिक्षाको विज्ञापन जवर्जस्त लादेर अन्य सूचनाको हक अपहरण गर्ने मिडिया हाउसहरू उनीहरूको सहयोगी बन्दै आएको छ । उद्योगपतिहरूका राम्रो कम्पनी शिक्षा भएको छ ।
जो न त राज्यको नीति नियम भित्र चल्दछ न त कम्पनी ऐननै लागु हुन्छ । जसले गर्दा उक्त क्षेत्रको लगानीमा मनपर्दी गर्न मिल्दछ र आयस्रोतको गतिलो स्रोत बन्दछ । त्यसो त दलाल फस्टाउन गतिलो स्रोत समेत बन्यो शिक्षा ।
आज कलेज, स्कूलको प्रचार प्रसार गरिदिए वापत, सम्पर्क गराए वापत, विद्यार्थी अभिभावक पट्याइदिए वापत र पर्चा पम्प्लेट छरीदिए बापत राम्रो कमाइ गर्ने गैर प्राज्ञिक दलालहरूको कमाईको स्थायी स्रोतमा परिणत भएको छ शिक्षा ।
उता प्राज्ञिक जगतले विषय विशेषज्ञता वा दक्षताको नाममा एक मुष्ट मोटो रकमको भरमा जादै नजाने र कार्यरत नभएको स्कूल कलेजमा नामको वोर्ड झुण्ड्याउन दिएर दलालको भुमिका निभाउन लाज मानेका छैनन् । ‘शिक्षा’ सवै उपरिसंचना र विकासका पूर्वाधारहरूका सेतु वन्नुपर्ने हो । राजनीतिको पनि असल नीतिभित्र पर्नुपर्ने हो । तर चीज त्यसो नभएर राजनीतिक संक्रमणकालनै शैक्षिक विकृतिको मलजल वनेको छ । पुँजीवादको चपेटामा परेको बुर्जुवा शिक्षाको चरम विकास जस्तो ठानिएको छ ।
राजनीतिक दल शिक्षाको प्रखर निर्देशक वनेको छ । नीजि शैक्षिक संस्थाहरू राजनीतिक दलहरूलाई मोटो रकम लेवी बुझाएको भरमा मन पर्दो गर्ने लाइसेन्स प्राप्त छन् भने सरकारी संस्थाहरूमा शैक्षिक नियुक्तिमा पुस्तकको ज्ञान समाउने भन्दा दलको झन्डा समाउने र झोला बोक्नेको नाम सट्लिष्टमा पर्दछ ।
यस प्रक्रियामा नियुक्ति पाएका तथाकथित राजनीतिक शिक्षकहरू विद्यालय, कलेज, क्याम्पस, कक्षाकोठा, विद्यार्थी, शिक्षण सिकाई प्रकृयातर्फ भन्दा आ–आफ्नो पार्टीतर्फ बढी जिम्मेवार र लगनशील हुन्छन् । यदी सत्य तथ्य पत्ता लगाउन अनुगमन गर्ने हो भने प्रायः शैक्षिक संस्थाहरू कित परिवार, हाड नाताको समूहको कब्जामा छ ।
या त एउटा विषय अध्यायन गरेको ब्यक्ति अर्के विषय शिक्षक भई पढाइरहेको अवस्था थुप्रैछन् । जसको परिणाम नेता शिक्षकहरूकै विद्यालयको एसइई नतीजा जिरो वा नगन्य छ । लोकतन्त्रको मन्त्र जपेर वसेको राज्य अमुक साक्षी मात्रै होइन स्पष्ट नीतिविहिन छ । शिक्षाको आधार हुन्छन् जस अनुरूप सिङ्गो शिक्षा नीति तयार हुन्छ ।
सोही अनुरूप शिक्षा सञ्चालन हुन्छ तर यो मुलुकमा यस्तो छ– मानौ शिक्षाको आधार नै छैन । पुँजीवाद, न्यून पुँजीवाद र बुर्जुवा चिन्तनले आक्रान्त बनेको शिक्षा लोकतान्त्रिक मुल्य मान्यताको शिक्षा बन्ने सवाल विजोग छ । सरकारी नतिजा आधा प्रतिशत भन्दापनि कम र नीजि क्षेत्रको नतिजा केही वढी प्रतिशत हुने गरेको एसइई परिणामभित्र पनि नीजि स्कूलहरूमा परीक्षामुखी सिकाइ जो मात्र ‘‘जव प¥यो राती तव बुढी ताती’’ झै गरी बाह्र महिनामा दुई महिना लाठा लिएर पुरानो प्रश्न घोकाएर नतिजा राम्रो देखाउने परिपार्टी आफैमा घातक छ ।
सामन्ति नोकरशाही प्रवृत्ति सहित अगाडि वढेको शिक्षाले समाजवादी भन्दा व्यक्तिवादी चिन्तन बोकेको पाइन्छ । राज्य सत्ता, राजनीतिक दलहरू, विज्ञापन एजेन्सी, प्रकाशन गृह, मिडिया हाउस, कन्सेसन पार्टी, वौद्घिक दास, शैक्षिक दलाल आदी सबैको सहयोगमा फस्टाएको मुठ्ठीभर हुनेखाने वर्ग केन्द्रित शिक्षाले मालिकको वफादार बनाउन व्यस्त देखिन्छ ।
शिक्षक विद्यार्थी, अभिभावक नै पनि उद्देश्य, नीति सिद्धान्त, आवश्यकता आदीप्रति होइन शैक्षिक मालिकप्रति इमान्दार र वफादार बनाइने वातावरण हावी छ । सीमित शहर वजारको पहुँचमा सीमित आधुनिक विज्ञान प्रविधि र नयाँ विषयहरूको विजय देशैभरका समाजको पहुँच झै ठानिएको छ । शैक्षिक क्यालेन्डर चाडवाड भोज मनोरञ्जन, वन्द हड्ताल, विभिन्न आन्दोलनहरूले भरिभराउ छ ।
पाठ्यभार राजनीतिक गतिविधिमा परिणत छ । शिक्षण–सिकाइ, परीक्षा, मूल्यांकनले परम्परा धानेको छ । सिकाइ तरीका, प्रविधि, टेक्निक, सामाग्रीहरू तालीम केन्द्रहरूमा भत्ताको रूपमा सीमित छ ।
पाठ्यक्रम धन कमाउने स्रोतको भूमिकामा थन्किएको छ । काठमाडौँका सम्भ्रान्त वर्गलाई कम्प्युटर पढाएर डढेलधुरा, हुम्ला, मुगु आदी लगायत मुलुक भरिका विकट क्षेत्रको कुरो गरिन्छ । शैक्षिक समाजलाई समाज सेवा होइन पैसा कमाउन प्रेरित गरिन्छ ।
सिक्न र ज्ञान आर्जन गर्न होइन उच्च डिभिजनको प्रमाणपत्र प्राप्त गर्ने ढंगले घोकन्ते विद्यामा जोड गरिन्छ । सहकार्य सहयोगी होइन दमनकारी र स्वार्थी हुन अभिप्रेरित गरिन्छ विद्यार्थीहरूलाई । अमेरिकी शिक्षाविद तथा समीक्षक जोहन हल्टले ‘स्कूल इज ब्यान्ड फर चिल्ड्रेन’ भनेर आलोचना गरे जस्तै भइसक्यो शैक्षिक थलोहरू ।