© 2026
पाल्पा ।
पाल्पाको तिनाउ गाउँपालिका–४, चिउरीडाँडामा पिकअप जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
आज बिहान करिब ७ बजे तिनाउ गाउँपालिका–४ स्थित झुम्सा–सत्यवती–धसमिघा भित्री कच्ची सडकखण्डमा माथागढी गाउँपालिका–५, बंसिङडाँडाबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज २२३७ नम्बरको मुस्ताङ पिकअप जीप दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते हुनेमा तिनाउ गाउँपालिका–३, सत्यवती, पाल्पाका ३६ वर्षीय खुमबहादुर डिसुवा मगर, सोही स्थानका ५१ वर्षीय नरसिंह डिसुवा मगर र ३६ वर्षीया शर्मिला डिसुवा मगर रहेका छन् ।
त्यस्तै, कालीगण्डकी गाउँपालिका–१, स्याङ्जाका १० वर्षीय सन्तोष रेश्मी, बुटवल उपमहानगरपालिका–१८, पोखराबारी, रुपन्देहीका ३६ वर्षीय दुर्गा थापा र सोही स्थानका ४ वर्षीय डेनिश थापा, माथागढी गाउँपालिका–५, पाल्पाका ४१ वर्षीय मनबहादुर गाहा, बुटवल उपमहानगरपालिका–१८, मोतीपुरका ३६ वर्षीया सपना राना, जीप चालक माथागढी गाउँपालिका–५, पाल्पाका ३९ वर्षीय देवकुमार घर्ती तथा कालीगण्डकी गाउँपालिका–१, स्याङ्जाका ३५ वर्षीय भुवनसिंह रेश्मी घाइते भएका छन् ।
प्रहरीका अनुसार जीप आफैँ अनियन्त्रित भई सडकबाट करिब १ सय १० मिटर तल खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र नौ जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।