© 2026
बुटवल । एउटा कुनामा दुई बोरा गुम्सिएको अवस्थामा फर्सिको साग छ । काँक्रो प्लास्टिकमै कुहिएको अवस्थामा छ । भण्टा, घिरौला, बोडी यत्रतत्र छन् । केराको अवस्था उस्तै । कृषकले उत्पादन गरेका कृषि उपजहरू यत्रतत्र छरिएको अवस्थामा छन् ।
तरकारी राख्नको लागि फलामको ¥याक छ । तर त्यो प्रयोगमा छैन । कुनामा राखिएको एसीले मुस्किलले कर्मचारीलाई चिसो फ्याँकेको छ । चर्को घाममा कपडा हम्किँदै तरकारी बिक्री गर्न आएका कृषकहरू कहिले भित्र कहिले बाहिर गरेका देखिन्छन् ।
बुटवल उपमहानगर पालिका वडा नं. ५ हाटबजार छेउमा एउटा चिस्यान केन्द्र छ– तिनाउ कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र । त्यही केन्द्रले सञ्चालन गरेको चिस्यान केन्द्रको अवस्था हो यो । यो चिस्यान केन्द्रमा पाल्पा तिनाउ गाउँपालिकाको लगानी छ ।
वि.सं. २०७९ देखि सुरु गरिएको सङ्कलन तथा बिक्री केन्द्रमा ८ लाख लगानीमा पालिकाको सहयोगमा चिस्यान केन्द्र सञ्चालन गरिएको केन्द्रका सञ्चालक समितिका पदाधिकारीहरू बत्ताउँछन् । चिस्यान केन्द्रको लागि तिनाउ गाउँपालिकाले २ वटा सटरको मासिक २१ हजार रुपैयाँ र बिजुलीको खर्च व्यहोर्दै आएको छ ।
यो चिस्यान केन्द्र न त चिस्यान केन्द्र जस्तो छ न त बिक्री केन्द्र जस्तो नै । मात्र प्रतिक्षालय जस्तो, जहाँ गर्मीले छटपटिएकाहरू चिसोको केही राहतको आशामा त्यहाँ झुम्मिइरहन्छन् । उमेरले ७५ वर्ष कटेका तिनाउ गाउँपालिका वडा नं. २ बेवरेका बेद बहादुर खड्का त्यही केन्द्रमा भेटिए । केरा र काँक्रो बिक्री गर्न ल्याएका ।
१ दर्जनको ३ सय रुपैयाँ उनले ग्राहकलाई भाउ बताउँदै थिए । बिक्री भयो भने ठिकै हो । त्यहाँ राख्दा राख्दै खेर गयो भने खाली हात घर फर्कनु पर्छ । “यहां सामान राखिदिने मात्र हो बिक्रीको लागि जिम्मा लिनुहुँदैन”, उनले गुनासो सुनाए– “चिस्यान केन्द्र नामको मात्र छ, बिक्री भएन भने दुई दिनमै तरकारी कुहेर जान्छ ।” केन्द्रमा ल्याएको तरकारी कति बिक्री भयो कति कुहेर नष्ट भयो भन्नेबारे कर्मचारीहरूले बेलैमा जानकारी दिँदैनन् । “कति बिक्री भयो, कति खेर गयो , अहिले सम्म हिसाब पाएको छैन । १० क्वीन्टल काँक्रो कुहेर गयो होला । खै जानकारी दिंदैनन ।” केन्द्रका कर्मचारीहरूप्रति उनले रुष्ट प्रकट गरे ।
कृषि उपज बिक्री भए बापत केन्द्रलाई कृषकले ४ प्रतिशत दस्तुर तिर्नु पर्छ । उत्पादनमा आधारित भएर गाउँपालिकाले कृषकले ५ प्रतिशत अनुदान दिने गरेको छ । बिक्रीको आधारमा पालिकाले अनुदान दिने र केन्द्रले दस्तुर लिने गरेको व्यवस्थापक यमी उचैले जानकारी दिइन् ।
बजार प्रवर्द्धनको लागि केन्द्रले पहल नगर्दा कृषकले उत्पादन गरेको कृषि उपजहरू बिक्री भन्दा बढी नष्ट भएर जाने गरेको कृषकहरूले गुनासो गरेका छन् । चिस्यान केन्द्रमा तरकारी भन्दा बढी दुध तथा दुधजन्य पदार्थलाई प्राथमिकता दिइएको छ ।
त्यहाँ डुम्रे दुग्ध सहकारी संस्थाले उत्पादन गरेको दुध, घिउ, अन्य दुग्धजन्य पदार्थ राखिएको छ । तरकारीलाई स्थान दिनु पर्नेमा सहकारीलाई स्थान दिएको भन्दै तिनाउ गाउँपालिकाका कृषकहरूले असन्तुष्टि पोखेका छन् ।
तिनाउ कृषि उपज सङ्कलन तथा बिक्री केन्द्रका अध्यक्ष टेमबहादुर बगालेले चिस्यान केन्द्रको प्राविधिक ज्ञानको अभावमा केही समस्या आएको स्वीकार गरे । उनका अनुसार साग लगायत अन्य कृषि उपजलाई टिकाउन नसकिएको कारण दुग्धजन्य पदार्थलाई बिक्री वितरण गरिएको उनको भनाइ छ । “प्राविधिक ज्ञानको कमी भयो ।
चिस्यान केन्द्रमा साग राख्न सकिएन त्यही भएर कृषकलाई नै सहयोग पुगोस भनेर सहकारीको दुग्धजन्य पदार्थ बिक्रीको लागि राखिएको हो ।” उनले भने–“चिस्यान केन्द्रलाई सुधार गर्न लागेका छौं प्राविधिक कुरा भएकाले अलि व्यवस्थापनमा चुनौती छ ।”
उनले कृषकको चौमासिक भुक्तानीको लागि प्रयास गरिएको बताउँदै उत्पादनमा आधारित अनुदानसँग जोडेर लैजाँदा विलम्ब भएको बताए । उनले कृषकले चाहेको बेलामा सफ्टवेयरमा तथ्याङ्क हेर्न सकिने बताए । तिनाउ गाउँपालिका तरकारी उत्पादनको पकेट एरिया नै हो ।
यहाँका झन्डै ५ सय कृषक व्यावसायिक तरकारी खेतीमा आबद्ध छन् । उत्पादन र बजारको सन्तुलन मिलाउन नसकिँदा कृषि उपज सङ्कलन तथा केन्द्रले बजार प्रवर्द्धन गर्न नसकेको स्वीकार गरेको छ । अध्यक्ष बगालेले कृषकले बजारको अवस्था हेरेर उत्पादन गर्ने र नियमितता दिन जरुरी रहेको बताए ।