© 2026
नवलपरासी । पश्चिम नवलपरासी प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम का अनुसार बर्दघाट नगरपालिका–४ शिव शक्ति टोल बस्ने ४३ वर्षीय विजय पौडेललाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो।
प्रहरीका अनुसार आज बिहान करिब ११ः२० बजेको समयमा पौडेलले आफ्नै घर अगाडि बन्दुक पड्काई साठीफाँट परिजात जङ्गलतर्फ गएको भन्ने सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गरेको थियो।
खोजतलासका क्रममा बर्दघाट नगरपालिका–४ मर्चाचोकस्थित क्षेत्रबाट पौडेललाई एक नाल भरुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। साथै, वडा नम्बर २ चिसापानी बस्ने ५० वर्षीय बखत रानाको साथबाट छर्रा ७४ वटा र बारुद २ वटा समेत बरामद गरिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सोमनाथ ढकालले जानकारी दिए ।