Butwal Today

स्कटल्यान्डलाई ६ विकेटले हराउँदै नेपाल लिग–२ को पाँचौं स्थानमा

४ जेष्ठ २०८३, सोमबार
अ+
अ-
 काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानमा रहेको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । जारी शृंखलामा दोस्रो जित हात पारेसँगै नेपाल लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले ३८ ओभर १ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालले १९९ रन बनाउँदै शानदार जित दर्ता गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएर अविजित रहे । उनले ९८ बलमा ५ चौका र २ छक्का प्रहार गरे । रोहितले इशान पाण्डेसँग तेस्रो विकेटका लागि शतकीय साझेदारी गरे । इशानले ६१ बलमा ५५ रन बनाए । उनले ५ चौका र २ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए । कुशल २८ र आसिफ २९ रनमा आउट भए । त्यसपछि रोहित र इशानले नेपालको इनिङ सम्हालेका थिए । उपकप्तान दीपेन्द्रसिंह ऐरी २ रनमा आउट हुँदा आरिफ शेख ८ रनमा अविजित रहे ।

स्कटल्यान्डका लागि मार्क वाटले २ विकेट लिए भने ब्रेन्डन म्याकमुलेनले १ विकेट हात पारे ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ३९ ओभर १ बलमा १९४ रनमा अलआउट भएको थियो । स्कटल्यान्डका लागि ब्रेन्डन म्याकमुलेनले सर्वाधिक ७३ रन बनाए । उनले ४४ बलमा ६ चौका र ६ छक्का प्रहार गरे । माइकल इंग्लिसले ७२ बलमा ५१ रन बनाए ।

यस्तै, जर्ज मुन्से २१, फिन्ले म्याकक्रेथ ६, कप्तान रिची बेरिङटन १२, माथ्यु क्रस १, मार्क वाट २०, माइकल लिस्क १, ओली जोन्स २ रनमा आउट भए । ओलीभर डेभिडसन भने खाता नै खोल्न सकेनन् ।

नेपालका लागि स्पिनर ललित राजवंशी घातक बने । लामो समयपछि विकेट हात पारेका उनले ८ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । सन्दीप लामिछानेले १० ओभरमा ४७ रन खर्चेर ३ विकेट लिए ।

यस क्रममा सन्दीपले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमान बनाए । उनले ७३ खेलमै उक्त उपलब्धि हासिल गर्दै अष्ट्रेलियाका मिचेल स्टार्कको कीर्तिमान तोडे । स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए ।

नेपालका लागि नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए ।

स्कटल्यान्डविरुद्धको खेलअघि सातौं स्थानमा रहेको नेपाल जितपछि दुई स्थान सुधार गर्दै पाँचौं स्थानमा पुगेको हो । २७ खेल खेलेको नेपालले २२ अंक जोडेको छ । समान २२ अंक भए पनि २८ खेल खेलेको नामिबिया रनरेटमा पछि पर्दै छैटौं स्थानमा छ ।

क्यानडा २४ खेलबाट २१ अंकसहित सातौं स्थानमा रहेको छ भने युएई २४ खेलबाट १४ अंक जोड्दै पुछारमा रहेको छ ।

पराजित भए पनि स्कटल्यान्ड ३१ खेलबाट ३८ अंकसहित शीर्ष स्थानमै कायम छ । अमेरिका २६ खेलबाट ३६ अंकसहित दोस्रो स्थानमा छ । ओमान २८ खेलबाट ३१ अंकसहित तेस्रो तथा नेदरल्याण्ड्स २४ खेलबाट २८ अंकसहित चौथो स्थानमा छन् ।

अब नेपालले शृंखलाको अन्तिम खेल शुक्रबार अमेरिकाविरुद्ध खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?