Butwal Today

कोहलपुरमा सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरेका ७५१ घरटहरा हटाइए

३ जेष्ठ २०८३, आइतबार
अ+
अ-

नेपालगञ्ज। बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका ७५१ घरटहरा हटाएको छ।

करिब चार दिनको अवधिमा कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान नजिकै अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो।

कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आर्चायले अधिकांशले आफ्ना, झ्याल, ढोकाजस्ता सामग्री आफैँ लिएर गएको जानकारी दिँदै त्यहाँ बाँकी रहेका घरटहरा हटाइएको बताए। उनले वास्तविका सुकुमवासीलाई नगरपालिकाले जीवन निर्वाह भत्ता दिएर भए पनि व्यवस्थापन गर्ने जानकारी दिँदै ‘होल्डिङ सेन्टर’मा बस्नेहरू पनि घट्दै गएको जानकारी दिए।

बस्ती भत्काउने विषय रहरको विषय नभएको उल्लेख गर्दै नगरप्रमुख आर्चायले आधारभूत आवश्यक्ता पूरा गर्ने उद्देश्यले पहिलो दिन झूल वितरण गरिएको र २५ केजी चामल, पाँच केजी दालसहित खाद्यान्नको करिब रु पाँच लाख बराबरको ‘प्याकेज’ बनाएर तयारी अवस्थामा थियो तर, वितरणमा थप कठिनाइ भएपछि त्यसलाई स्थगन गरेर सूचना प्रकाशन गरिएको बताए। हाल नगरपालिकालाई १०२ घरको विवरण प्राप्त भएको छ।

उनले भने, “वास्तविक सुकुमवासीलाई सम्भव भए कुनै जग्गाको व्यवस्थापन गरिनेछ, भएन भने कार्यविधि बनाएर उनीहरूलाई जीवन निर्वाह भत्ता प्रदान गरिने छ।” कोहलपुर नगरपालिकाले वडा नं ११ स्थित क्रिकेट मैदान आसपास रहेको सुकुमवासी बस्तीमा डोजर चलाएर बस्ती हटाएपछि प्रभावित परिवारलाई कोहलपुर नयाँ बसपार्क भवनमा अस्थायी रूपमा राखिएको छ।

होल्डिङ सेन्टरमा बसिरहेका धेरै परिवारले आफूहरूसँग कुनै घरजग्गा नरहेको र अब भविष्य के हुने भन्ने चिन्ता बढेको बताएका छन्। “कहिलेसम्म यसरी बस्नुपर्ने हो थाहा छैन,” होल्डिङ सेन्टरमा बसेका प्रेम विकले भने। कोहलपुर नगरपालिकाले बसपार्क भवनका तीन तलामा परिवारको सङ्ख्याअनुसार समूहगत रूपमा राखेको छ।

दैनिक ज्यालादारी श्रम गरेर जीविकोपार्जन गर्दै आएका अधिकांश परिवारको अन्नपात सकिन लागेको र खाद्यान्न सङ्कट देखिन थालेको प्रभावितहरूले बताएका छन्। नगरपालिकाले कम्तीमा रासनपानीको व्यवस्था गरिदिए राहत हुने उनीहरूको आग्रह छ।

केही महिला सुकुमवासीले महिला र पुरुष एकै हलमा सामूहिक रूपमा बस्नुपर्दा असहजता र गोपनीयताको समस्या भइरहेको बताएका छन्। त्यहाँ बसोबास गर्ने अधिकांश दलित र मधेसी समुदायका छन्। सो सेन्टरमा २७९ जना रहेका छन्। त्यसमा करिब ६० जना बालबालिका छन्। यसमध्ये पनि होल्डिङ सेन्टरमा बस्ने परिवार घट्दै गएको नगरपालिकाले जनाएको छ।

यसैबिच, बाँकेका विभिन्न मानवअधिकार तथा कानुनी क्षेत्रसँग सम्बन्धित अधिकारकर्मीहरूले कोहलपुर नगरपालिकाले स्थापना गरेको होल्डिङ सेन्टरको स्थलगत अनुगमन गरेका छन्।

सार्वजनिक सरोकार कानुन व्यवसायी समूहका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठको टोलीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीका विषयमा जानकारी लिएको छ।

सो टोलीले कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य, नगरपालिका ईश्वरीप्रसाद विक र भूमि समस्या समाधान आयोग बाँकेका पूर्वअध्यक्ष घननाथ खनालसँग भेटघाट गरी घटनासम्बन्धी जानकारी लिएको छ।

बाँकेमा ५३ हजार ७०० भन्दा बढी परिवार सुकुमवासी छन्। सुकुम्वासी आयोग विघटन भएसँगै पुर्जा वितरण, नापजाँच र राजस्व सङ्कलन लगायतका काम ठप्प हुँदा थप अन्योल देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?