Butwal Today

नेकपा एमालेको प्रश्न : सरकारले कुन शासन प्रणालीलाई अवलम्बन गरिरहेको छ ?

३१ बैशाख २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा एमालेले सरकारले संविधानअनुसारको शासन प्रणाली अवलम्बन गरिरहेको हो वा फरक किसिमको तन्त्र विकास गर्न खोजिएको हो भनेर प्रश्न उठाएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले सभामुखमार्फत सरकारसँग यस्तो प्रश्न गरेका हुन् ।

महरले नेपालको संविधानको धारा ७४ मा बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको स्मरण गराउँदै वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

‘यो सरकारले कुन शासन प्रणाली अवलम्बन गरिरहेको छ रु संविधानमा व्यवस्था भएको शासन प्रणालीअनुसार अघि बढेको हो कि कुनै अर्को तन्त्र विकास गर्न खोजिएको हो रु’ उनले प्रश्न गरे ।

उनले सार्वजनिक रूपमा प्रधानमन्त्री बालेन शाहले लोकतान्त्रिक प्रणालीभन्दा ‘बालेनतन्त्र’ विकास गर्न खोजेको भन्ने चर्चा चलिरहेको उल्लेख गर्दै संसद्को निरन्तर उपेक्षा भएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

महरले प्रधानमन्त्रीबाट पटक–पटक संसद्को अवमूल्यन हुने गरेको आरोप लगाउँदै सरकार संसद्प्रति उत्तरदायी र जवाफदेही बन्नुपर्ने बताए ।

‘नीति तथा कार्यक्रम प्रस्तुत हुने बेला सरकार संसद्मा उपस्थित भएर जनताका प्रश्न सुन्नुपर्छ,’ उनले भने, ‘हामी यहाँ प्रधानमन्त्रीको अनुहार हेर्न होइन, कानुनसम्मत रूपमा आफ्नो दायित्व पूरा गर्न आग्रह गरिरहेका छौँ ।’

उनले समस्या नियमावलीको मात्र नभई सरकारको नियतमै देखिएको टिप्पणी गरे ।

साथै, प्रधानमन्त्री काममा व्यस्त रहेको भनिए पनि फेरि सुकुमवासी बस्तीमा डोजर चलाउने तयारी भइरहेको हो कि भन्ने आशंका समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?