Butwal Today

३८ लाख प्रकरण: हल्लायो शिवराज–भौचर जम्मा, खाता खाली 

३० बैशाख २०८३, बुधबार
अ+
अ-

चन्द्रौटा । आधारभूत स्वास्थ्य अस्पतालको ३८ लाख आर्थिक अनियमितता प्रकरणमा अनुसन्धान तीव्र बनाइएको छ । कपिलवस्तुको शिवराज नगरपालिकामा मातहतमा रहेको अस्पतालमा नागरिकहरूले तिरेको लाखौँ रकम गायब भएपछि शिवराज नगरपालिका तहल्का मच्चिएको हो ।

गत आर्थिक वर्षको लेखा परीक्षणका क्रममा ३८ लाख १९ हजार रुपैयाँ बराबरका बैङ्क भौचर फेला परे पनि सम्बन्धित बैङ्क खातामा रकम दाखिला नभएको पुष्टि भएपछि अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठेको छ ।

अस्पतालको फार्मेसी तथा विभिन्न सेवा शुल्कबाट सङ्कलन गरिएको रकम विभिन्न मितिमा १२९ वटा भौचरमार्फत जम्मा गरिएको देखिए पनि नेपाल बैङ्क चन्द्रौटा शाखास्थित अस्पतालको खातामा उक्त रकम नदेखिएको स्रोतले जनाएको छ ।

त्यसपछि यो विषय सार्वजनिक हुँदै व्यापक चासोको विषय बनेको छ । घटनामा अस्पतालका तत्कालीन प्रमुखदेखि स्वास्थ्य शाखा प्रमुख, फार्मेसी कर्मचारी, बैङ्क कर्मचारी तथा कार्यालय सहयोगीसम्म अनुसन्धानको दायरामा आएका छन् ।

स्रोतका अनुसार शिवराज नगरपालिका स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराई, डा. अमित पाण्डे, तत्कालीन अस्पताल प्रमुख विरेन्द्र मिश्रा, फार्मेसी इन्चार्ज लक्ष्मण रिमाल, रुक्सना खातुन, लगायतलाई अनुसन्धानमा राखिएको छ । यस्तै बैङ्कतर्फबाट कमल भण्डारी र विक्रम केसीलाई पनि पक्राउ गरि ७ दिनको म्याद थप गरिएको छ ।

घटना सार्वजनिक भएको करिब एक महिनापछि शिवराज नगरपालिकाले अस्पतालका चार जना कर्मचारीविरुद्ध किटानी जाहेरी दिएको थियो । त्यससँग सम्बन्धित अन्य व्यक्तिहरूलाई पनि अनुसन्धानका लागि बोलाउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

यसबिच अस्पतालका दुई जना कर्मचारी अझै प्रहरी सम्पर्कमा आएका छैनन् । उनीहरू भारततर्फ तीर्थयात्रामा गएको जानकारी प्राप्त भएको छ । अन्य सम्बन्धित व्यक्तिहरू भने प्रहरीसमक्ष उपस्थित भइसकेका छन् । स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

oppo_0

oppo_0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?