© 2026
नवलपरासी (पश्चिम् ) । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसहित “सबै विद्यालय डिजिटलाईज” अभियान अगाडि बढाएको छ । नगरपालिकाले नगरभित्र रहेका ३७ वटै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड जडान गर्ने योजना अघि सारेको हो ।
शिक्षण सिकाइ प्रक्रियालाई आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यले बाकी रहेका सबै विद्यालयमा स्मार्ट बोर्ड जडानको अवधारणा ल्याइएको नगरपालिकाले जनाएको छ। यस अभियानमार्फत विद्यार्थीलाई डिजिटल माध्यमबाट अध्ययन गराउने, शिक्षकलाई प्रविधिसँग जोड्ने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्य राखिएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले बताए ।
चालु शैक्षिक सत्रभित्र सबै विद्यालयमा स्मार्ट बोर्ड जडान गरिने जानकारी उनले दिए । उनले डिजिटल प्रविधिको प्रयोगले विद्यार्थीको सिकाइ क्षमता वृद्धि हुनुका साथै कक्षाकोठा थप आकर्षक र व्यवहारिक बन्ने विश्वास व्यक्त गरे । नगरपालिकाले कम्प्युटर ल्याब स्थापना देखि शिक्षकहरूलाई लागत साझेदारीमा ल्यापटप समेत प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले जानकारी दिए ।
विद्यालयहरूमा इन्टरनेट पहुँच, डिजिटल सामग्री तथा शिक्षकलाई आवश्यक तालिमसमेत उपलब्ध गराइने नगरपालिकाको योजना रहेको छ। स्थानीय तहबाट शिक्षा क्षेत्रमा गरिएको यो प्रयासलाई अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले सकारात्मक रूपमा लिएका छन्।
नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षा प्रणाली विकास गर्न यो अभियान महत्त्वपूर्ण हुने अपेक्षा सहित प्रविधि युक्त विद्यालयमा जोड दिइएको सामाजिक विकास समिति संयोजक भिमकाजी गुरुङले बताए ।