Butwal Today

सदनमा निदाएको आरोपबारे अर्थमन्त्री भन्छन् : मोबाइलमा म्यासेज हेर्दै थिएँ

२९ बैशाख २०८३, मंगलवार
अ+
अ-

काठमाडौं ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा आफू निदाएको आरोपको खण्डन गरेका छन् ।

सामाजिक सञ्जालमा मन्त्री वाग्ले निदाएको भन्दै भिडियो भाइरल भएपछि उनले बुधबार एक संसदीय समिति बैठकमा स्वयं उक्त विषय उठाउँदै स्पष्टीकरण दिएका हुन् । “अर्थमन्त्री निदायो भनेर एकदम भाइरल भएको छ । जे देखिन्छ, त्यही यथार्थ नहुन पनि सक्छ भन्ने चेत यहाँहरूले पनि राखिदिनुहोला,” उनले भने ।

उनका अनुसार बैठकका क्रममा अत्यावश्यक सन्देशहरू आइरहेकाले आफूले टेबलमुनि राखिएको मोबाइल हेरेका थिए । राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रत्यक्ष रूपमा मोबाइल प्रयोग गर्नु शोभनीय नदेखिने भएकाले त्यसरी सन्देश हेरेको उनले स्पष्ट पारे ।

“राष्ट्रपतिको अगाडि फोन उठाएर हेर्नु उपयुक्त नहुने भएकाले टेबलमुनि राखेर म्यासेज हेरिरहेको थिएँ,” वाग्लेले भने, “अर्थमन्त्री निदायो भनेर दशौँ लाख मानिसले रमाइलो गरिरहेका छन् । त्यसैले जे देखिन्छ, त्यो नै पूर्ण यथार्थ नहुन सक्छ । गम्भीर निष्कर्षमा पुगिहाल्न आवश्यक छैन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?