© 2026
काठमान्डौँ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवद्वारा सवारी चालक पदमा नियुक्त गरिएका मुस्तकिम मिँया अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ परेका छन् ।
सप्तरीको महादेवा गाउँपालिका–१ स्थायी घर भई हाल राजविराज नगरपालिका–३ बस्दै आएका २७ वर्षीय मिँयालाई प्रहरीले सोमबार पक्राउ गरेको हो । उनीमाथि अपहरण, शरीर बन्धक तथा अपमानजनक व्यवहारसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मन्त्री यादवले उनलाई २०८२ चैत २७ गते हलुका सवारी चालक पदमा नियुक्त गरेका थिए । नियुक्तिपत्रमा उनको नाम ‘मो। मुस्तकिम’ उल्लेख गरिएको छ भने प्रहरीको विज्ञप्तिमा ‘मुस्तकिम मिँया’ नाम उल्लेख छ । दुवै नाम एकै व्यक्तिको भएको स्रोतले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार मिँयाविरुद्ध सप्तरी जिल्ला अदालत, राजविराजबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीमा परेको किटानी जाहेरीअनुसार मिँयाले एक व्यक्तिलाई एकान्त स्थानमा बन्धक बनाई डरत्रास देखाउने, कुटपिट गर्ने तथा कपडा खोल्न बाध्य बनाई नग्न अवस्थामा भिडियो खिचेको आरोप लागेको छ ।

उक्त भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भएपछि घटनाको व्यापक आलोचना भएको थियो । साथै, उनलाई राजनीतिक संरक्षणमार्फत जोगाउन खोजिएको आरोपसमेत प्रहरीमाथि लागेको थियो ।
प्रहरीले खोजतलासका क्रममा राजविराज नगरपालिका–८ बाट मिँयालाई नियन्त्रणमा लिएको जनाएको छ ।
मिँयाले आफूलाई ‘जेनजी आन्दोलन’को अगुवा दाबी गर्दै जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएका थिए ।
