© 2026
काठमाडौँ ।
नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा सोमबार र मंगलबार कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि कांग्रेसले वैशाख २८ र २९ गते प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।
भेलालाई सम्बोधन गर्न कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेताहरू कर्णाली जाने कार्यक्रम रहेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने भेलामा आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका विषयमा छलफल केन्द्रित रहने जनाइएको छ ।
भेलामा कर्णाली प्रदेशबाट पार्टीको केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, प्रदेश कार्यसमितिका पदाधिकारी, १० वटै जिल्लाका सभापति, पार्टीतर्फका प्रतिनिधिसभा सदस्य, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष सहभागी हुनेछन् ।
प्रतिष्ठानका सदस्य प्रकाश लामिछानेले भेलामा हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको वस्तुनिष्ठ समीक्षा, संगठनात्मक कमजोरीको पहिचान तथा पार्टीभित्र अनुशासन र आन्तरिक एकता सुदृढ बनाउने विषयमा विशेष छलफल हुने जानकारी दिए ।
उनका अनुसार प्रदेश तथा स्थानीय तहका सरकारले अवलम्बन गर्नुपर्ने नीति, कार्यक्रम र जनमुखी विकास मोडेलबारे विस्तृत बहस हुनेछ । बदलिँदो जनमत र मतदाताको मनोविज्ञानलाई ध्यानमा राख्दै पार्टीको भावी नीतिगत परिमार्जन, संगठन शुद्धीकरण तथा जनप्रतिनिधि र नेतृत्वबीच साझा धारणा निर्माणमा पनि जोड दिइनेछ ।
त्यस्तै सुशासन, भौतिक पूर्वाधार विकास, सामाजिक रूपान्तरण, विपद् व्यवस्थापन तथा बजेट व्यवस्थापनका प्राथमिकताबारे स्पष्ट कार्ययोजना तय गरिने कांग्रेसले जनाएको छ ।
नागरिकमैत्री बजेट निर्माण, समावेशी विकास तथा पार्टी र जनप्रतिनिधिबीच प्रभावकारी समन्वयका विषयमा समेत गहन छलफल हुने आयोजकको भनाइ छ । दुईदिने छलफलपछि ‘सुर्खेत घोषणापत्र’ जारी गर्दै कर्णालीको विकास, समृद्धि र सुशासनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
कांग्रेसले उक्त भेलालाई कर्णाली केन्द्रित राजनीतिक, संगठनात्मक तथा विकास रणनीति निर्माणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।