Butwal Today

युवा: काम गर्ने कि देश छोड्ने ?

२७ बैशाख २०८३, आइतबार
अ+
अ-

नेपालको हरेक कुनामा आज एउटै प्रश्न गुन्जिरहेको छ—‘काम गर्ने कि देश छोड्ने’ ? यो केवल व्यक्तिगत निर्णयको विषय होइन; यो सामाजिक संरचना, आर्थिक अवस्था, नीतिगत कमजोरी र मानसिकताको प्रतिबिम्ब हो ।

विशेष गरी सामाजिक क्षेत्रमा सक्रिय हुन खोज्ने, उद्यम सुरु गर्न चाहने र नवप्रवर्तनमार्फत केही नयाँ गर्न खोज्ने युवाहरूका लागि यो प्रश्न अझै गहिरो र जटिल बनेको छ । आजको युवा साधारण मात्रै छैनन् । ऊ ऊर्जा वान छ, शिक्षित छ, डिजिटल रूपमा जोडिएको छ र विश्वस्तरका अवसर र प्रविधिसँग परिचित छ । तर, यति हुँदाहुँदै पनि उसले आफ्नो देशमै केही गर्न खोज्दा किन बारम्बार अवरोधहरूको सामना गर्नुपर्छ ?

किन उसलाई बारम्बार ‘यो सम्भव छैन’ भन्ने सुनिनु पर्छ ? किन उसले आफ्नो सपना पूरा गर्नका लागि देश छोड्नुपर्ने विकल्पलाई गम्भीर रूपमा लिनुपर्छ ? यी प्रश्नहरूको उत्तर खोज्दै जाँदा हामी सामाजिक क्षेत्र, उद्यमशीलता र नवप्रवर्तनका गहिरा समस्याहरूमा पुग्छौं ।

सामाजिक क्षेत्रमा काम गर्न चाहने युवाहरूको अवस्था बुझ्नुपर्छ भने उनीहरूको दैनिक संघर्षलाई नजिकबाट हेर्नुपर्छ । धेरै युवा समाज परिवर्तनको सपना बोकेर विभिन्न अभियान, संगठन, स्वयंसेवी कार्यमा लागिरहेका छन् ।

उनीहरू गाउँदेखि शहरसम्म शिक्षा सुधार, स्वास्थ्य सचेतना, वातावरण संरक्षण, लैङ्गिक समानता, युवा सशक्तीकरण जस्ता क्षेत्रमा काम गर्छन् । तर, यस्ता कामहरूलाई हाम्रो समाजले अझैपनि पेशाको रूपमा स्वीकार गर्न सकेको छैन ।

जब कुनै युवा सामाजिक क्षेत्रमा पूर्णकालीन रूपमा काम गर्न चाहन्छ, उसलाई सबैभन्दा पहिले घरपरिवारबाट नै प्रश्न उठ्छ– ‘यसबाट के पाइन्छ’ ? कति कमाउँछौ ? भविष्य के हुन्छ ? यी प्रश्नहरू केवल जिज्ञासा होइनन् । यी दबाब हुन्, जसले युवालाई आफ्नो बाटो छोड्न बाध्य बनाईरहेको छ ।

सामाजिक क्षेत्रमा आर्थिक स्थायित्वको अभाव अर्को ठूलो चुनौती हो । धेरै युवाहरूले वर्षौंसम्म बिना पारिश्रमिक काम गर्छन्, केवल अनुभव र सन्तुष्टिका लागि । तर, समयसँगै उनीहरूलाई आफ्नो व्यक्तिगत जीवन, परिवारको जिम्मेवारी र भविष्यको सुरक्षा पनि सोच्नुपर्छ ।

यस्तो अवस्थामा उनीहरू द्विविधामा पर्छन्, समाजको लागि काम जारी राख्ने कि आफ्नो आर्थिक स्थायित्वको लागि अन्य बाटो रोज्ने ? यहीँबाट धेरै युवाहरूको सपना क्रमशः मर्दै जान्छ । तर, यसै भिडका बीच केही युवाहरू भने सामाजिक क्षेत्रलाई मर्यादित बनाउनु साटो त्यसलाई गतिलो आम्दानीको स्रोत बनाई अनुचित आम्दानी गर्नतर्फ लागेका युवाहरू पनि यो समाजमा धेरै छन् ।

सामाजिक कामबाट व्यवसायीक भन्दा पनि बढी आम्दानी गरि सामाजिक क्षेत्रलाई नै बदनाम गराएका युवाहरूको संख्या धेरै छ । त्यसैले नेपाली युवाहरूले यस क्षेलाई मर्यादित बनाई असल नियतका साथ समाज रूपान्तरणमा लाग्नु आवश्यक छ ।

यस्तै अवस्था उद्यमशीलता क्षेत्रमा पनि व्यापक देखिन्छ । नेपालमा ‘स्टार्टअप’ र ‘इन्टरप्रेनरसिप’ भन्ने शब्दहरू लोकप्रिय हुँदै गएका छन्, तर व्यवहारमा अझै धेरै कठिनाइहरू छन् । कुनै युवा नयाँ व्यवसाय सुरु गर्न चाहन्छ भने उसले सबैभन्दा पहिले लगानीको समस्या भोग्छ ।

बैंकहरू जोखिम लिन चाहँदैनन्, बैंकले अनुभवी लगानीकर्ताहरू र स्थापित व्यवसायलाई मात्र लगानी गर्न चाहन्छन् । नयाँ सोच, नयाँ आइडिया र युवा ऊर्जामाथि विश्वास गर्ने वातावरण अझै बनिसकेको छैन् । यसको लागि निश्चित धितो आवश्यक पर्छ तर युवाहरूसँग त्यो धितो नहुँदा धेरैले बैंकबाट आर्थिक सहयोग पाउन असम्भव प्रायः नै छ ।

यसतर्फ राज्यले आईडियालाई धितो राखेर लोन दिने व्यवस्था मिलाउन सकेमा धेरै युवाहरू उद्यमी बन्न प्रेरित हुनेछन् । त्यसपछि सुरु हुन्छ नीतिगत र प्रशासनिक झन्झट । व्यवसाय दर्ता गर्नदेखि कर तिर्ने प्रक्रियासम्म, हरेक चरणमा जटिलता छ ।

पारदर्शिता र सहजताको अभावले युवालाई निराश बनाउँछ । धेरै युवाहरूले आफ्नो आइडिया लिएर सुरु गर्छन्, तर प्रक्रियागत झन्झटले गर्दा बीचमै हार मान्न बाध्य हुन्छन् । यसले केवल एउटा व्यवसायको अन्त्य मात्र गर्दैन; यसले एउटा सपना, एउटा सम्भावना र एउटा भविष्यको अन्त्य गर्छ । यसतर्फ राज्यको बिशेष ध्यान जानु आवश्यक छ । तर, सबैभन्दा ठूलो समस्या भनेको असफलताको डर हो, जुन सामाजिक मानसिकताले सिर्जना गरेको छ ।

नेपालमा असफल हुनु भनेको सिकाइको प्रक्रिया होइन; यो ‘नाकाम हुनु’ को रूपमा लिइन्छ । यदि कुनै युवा व्यवसायमा असफल भयो भने, समाजले उसलाई दोस्रो मौका दिन तयार हुँदैन । परिवारले पनि ‘हामीले भनेको सुनेको भए यस्तो हुँदैनथ्यो’ भन्ने प्रतिक्रिया दिन्छ । यस्तो वातावरणमा कसरी कुनै युवा जोखिम लिन तयार हुन्छ ?

नवप्रवर्तनको कुरा गर्दा नेपालमा प्रतिभा र सिर्जनशीलताको कमी छैन । यहाँका युवाहरू विश्वस्तरका आइडिया ल्याउन सक्षम छन् । तर, त्यसलाई कार्यान्वयन गर्ने वातावरण कमजोर छ । हाम्रो शिक्षा प्रणाली अझैपनि सैद्धान्तिक ज्ञानमा केन्द्रित छ, जहाँ विद्यार्थीलाई सोच्न, प्रश्न गर्न र नयाँ समाधान खोज्न प्रोत्साहित गरिँदैन ।

अनुसन्धान र विकासमा लगानी न्यून छ, जसले गर्दा नयाँ प्रविधि र समाधानहरू विकास गर्न कठिन हुन्छ । युवाहरूले जब केही नयाँ गर्न खोज्छन्, उनीहरूलाई आवश्यक पूर्वाधार—जस्तै नवप्रवर्तन प्रयोगशालाहरू, नवप्रवर्तन केन्द्र, मेन्टरसिप पाउन गाह्रो हुन्छ । ग्रामीण क्षेत्रका युवाहरूका लागि त यो झनै टाढाको कुरा हो । यस्तो अवस्थामा उनीहरूको प्रतिभा र क्षमता प्रयोग हुन नपाउदै हराएर जान्छ ।

यी सबै समस्याहरूको जडमा एउटा गहिरो समस्या छ— सामाजिक मानसिकता । ‘नेपालमा केही हुँदै’ भन्ने धारणा यति गहिरो रूपमा बसिसकेको छ कि यसले युवाको आत्मविश्वास नै कमजोर बनाएको छ । जब सानो प्रयासमा नै नकारात्मक प्रतिक्रिया आउँछ, तब युवाले आफूले गर्न सक्ने सम्भावनालाई पनि सानो ठान्न थाल्छ । यही कारणले गर्दा धेरै युवाहरू विदेशलाई मात्र सफलताको बाटो मान्न थाल्छन् ।

विदेश जाने निर्णय धेरैका लागि बाध्यता हो । राम्रो शिक्षा लिएपछि पनि उपयुक्त रोजगारी नपाउनु, कामको उचित मूल्य नपाउनु, अस्थिरता र अनिश्चित भविष्य—यी सबै कारणहरूले युवालाई देश छोड्न प्रेरित गर्छ । विदेशमा राम्रो तलब, व्यवस्थित प्रणाली र अवसर देखिन्छ, जसले गर्दा उनीहरूले त्यहीँ आफ्नो भविष्य देख्न थाल्छ । तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ— के विदेश जानु नै अन्तिम समाधान हो ? वा, के हामीले आफ्नो देशमा रहेका सम्भावनाहरूलाई पर्याप्त रूपमा प्रयोग गर्न सकेका छौं ? नेपालमा चुनौतीहरू छन्, तर सम्भावनाहरू पनि कम छैन ।

यहाँका समस्या स्थानीय छन्, त्यसैले समाधान पनि स्थानीय हुनसक्छ । सामाजिक क्षेत्रमा काम गर्ने अवसर विशाल छ । उद्यमशीलताको लागि नयाँ क्षेत्रहरू खुलिरहेका छन, डिजिटल प्लेटफर्म, कृषि नवप्रवर्तन, पर्यटन, सूचना प्रविधि इत्यादि । यदि सही मार्गनिर्देशन र उपयुक्त वातावरण मिल्यो भने, नेपाली युवाले विश्वस्तरको काम नेपालमै बसेर गर्न सक्छ र कतिले त यो कुराको प्रमाणित पनि गरिसकेको छ ।

यसका लागि आवश्यक छ— सोच परिवर्तन । जबसम्म हामी आफैंले आफ्नो देशप्रति विश्वास राख्दैनौं, तबसम्म बाह्य परिवर्तन सम्भव छैन । साथै, नीतिगत सुधार पनि उत्तिकै आवश्यक छ । सरकार र सम्बन्धित निकायहरूले युवामैत्री नीति बनाउनुपर्छ, प्रक्रियाहरू सरल बनाउनुपर्छ, र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्छ । तर सबैभन्दा महत्वपूर्ण कुरा के हो भने— युवाले आफूलाई परिवर्तनको केन्द्रमा राख्नुपर्छ । युवाले अवसर खोज्ने मात्र होइन, अवसर सिर्जना गर्ने सोच राख्नुपर्छ । समस्या देखेर निराश हुने होइन, समाधान खोज्ने साहस गर्नुपर्छ ।

अन्ततः ‘काम गर्ने कि देश छोड्ने’ ? भन्ने प्रश्नको उत्तर कुनै एक लाइनमा सीमित छैन । यो व्यक्तिगत परिस्थिति, लक्ष्य र प्राथमिकतामा निर्भर गर्छ । तर, यदि हामीले दीर्घकालीन रूपमा देशको विकास र आफ्नै पहिचान निर्माणको कुरा गर्ने हो भने काम गर्ने, संघर्ष गर्ने र परिवर्तन ल्याउने बाटो नै महत्वपूर्ण हुन्छ । युवा भोलिको कर्णधार मात्रै हैनन वर्तमानका साझेदार पनि हुन ।

देश केवल सरकार वा प्रणालीले होइन, यहाँका युवाले बनाउने हो । र, जब युवा आफैं उठ्छ, तब देश बदलिन समय लाग्दैन् । मात्र त्यसको लागि तमाम युवाहरूको सोच परिवर्तन हुन आवश्यक छ र युवाहरूले सम्भव छ भन्ने सोचको विकास गर्नसक्नु पर्दछ ।
केन्द्रिय अध्यक्ष, नेपाल युवा परिषद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?