Butwal Today

ढलान पछि सहज बन्दै दाउन्ने सडक, जेष्ठ १५ सम्म सकिने 

२६ बैशाख २०८३, शनिबार
अ+
अ-

नवलपरासी । लामो समयदेखि धुलो, हिलो र जामका कारण यात्रुको हैरानीको विषय बनेको बुटवल–नारायणगढ सडक खण्डमा अहिले सवारी साधन सरर चल्न थालेका छन् ।

सडक विस्तारको काम तीव्र बनेसँगै विभिन्न स्थानमा कालोपत्रे सम्पन्न भएपछि यात्रामा सहजता आएको हो ।विशेष गरी निकै असहज मानिएको १४ किलोमीटर रहेको दाउन्ने सडक खण्डको दुईतर्फी ढलानको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

दाउन्ने खण्डको १सय ८० मिटर बाहेक सबै ढलानको काम मोटामोटी रूपमा सकिएको आयोजनाका पश्चिम् खण्डका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।”पहिरोले भत्काएको एक ठाउँको १ सय मिटर र अर्को ठाउँको  ८० मिटर गरी १८० मिटर जति रिजिटको काम बाकी छ र दुई तर्फी सकिन करिब १ किलोमीटर जति मात्रै बाकी छ,जेष्ठ १५ सम्म सकिन्छ”ज्ञवालीले भने ।दाउन्ने मन्दिर नजिकै ६७ मा कल्भर्ट निर्माणको काम भइरहेको र आधा सकिएको ज्ञवालीले जानकारी दिए ।

विशेष गरी पश्चिम नवलपरासीको दाउन्ने क्षेत्र हुँदै पर्ने सडक खण्डमा केही समय अघिसम्म दैनिक जसो सवारी जाम हुने, दुर्घटनाको जोखिम बढ्ने तथा यात्रुले घण्टौँ सास्ती व्यहोर्नुपर्ने अवस्था थियो । अहिले भने सडक ढलानको काम अन्तिम चरणमा पुगेसँगै आवागमन तुलनात्मक रूपमा निकै सहज बनेको यात्रुहरूले बताएका छन् ।”अहिले त कतै जाममा नपरी सरर आइयो, जाममा पनि परिएन, घण्टौँ समय पनि लागेन, बाटो र गजब भएछ”दलदले फारमका दामु पौडेलले बताए ।

सडकमा धुलो कम हुनुका साथै यात्रा समय पनि घट्न थालेको छ । सार्वजनिक यातायात चालकहरूले समेत पहिलेको तुलनामा गाडी सञ्चालन सहज भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?