© 2026
नेपालगन्ज, २५ वैशाख । बाँकेको कोहलपुर नगरपालिकाले भूमिहीन सुकुम्वासीहरूको अस्थायी व्यवस्थापनका लागि १६ वटा होल्डिङ सेन्टर तयार गरेको छ ।
क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराउने तयारीसँगै नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका वैकल्पिक बसाइँ व्यवस्थापनको प्रक्रिया अघि बढाएको हो । कतिपयले शुक्रवार बिहानैदेखि होल्डिङ सेन्टर आफै सामान सार्न थालिसकेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी सूचनाअनुसार वडा नम्बर ११ स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र वैशाख २६ गते बिहानदेखि खाली गराइनेछ । सो क्षेत्रमा बसोबास गर्दै आएका नागरिकका लागि तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउन विभिन्न स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
नगर कार्यपालिकाको वैशाख १६ गतेको निर्णयअनुसार जारी १० दिने सूचनाको समय सीमा सकिन लागेकाले अब अतिक्रमित क्षेत्र खाली गराउने प्रक्रिया अघि बढाइएको हो । नगरपालिकाका अनुसार २०८० भदौ ५ गते सङ्कलित पारिवारिक लगत विवरणका आधारमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्वासीलाई प्राथमिकतामा राखेर अस्थायी व्यवस्थापन गर्न लागिएको हो ।
नगरपालिकाले वडा नम्बर २ देखि १४ सम्मका विभिन्न सामुदायिक भवन, विद्यालय, सटर तथा सार्वजनिक संरचनामा होल्डिङ सेन्टरको व्यवस्था गरेको जनाएको छ । वडा नम्बर २ मा बाल अस्पताल नजिकको सटर, सामुदायिक भवन र दलित सङ्ग्रहालय, वडा नम्बर ३ मा मैटहवा सामुदायिक भवन, वडा नम्बर ४ मा गोहवा थारू सामुदायिक भवन तथा वडा नम्बर ६ मा रझेनास्थित थारू सामुदायिक भवनलाई होल्डिङ सेन्टर बनाइएको छ ।
त्यस्तै वडा नम्बर १० मा दीपशिखा मावि एकतानगर र सहकारी सामुदायिक भवन, वडा नम्बर ११ मा पुरानो बसपार्क, क्रिकेट मैदान स्टेडियमको सटर, नयाँ बसपार्क टर्मिनल भवन, नगर विकास समितिभित्रका भवन तथा वडा नम्बर १२ र १४ का विभिन्न सार्वजनिक भवन र सटरहरूमा पनि अस्थायी बसोबासको व्यवस्था मिलाइएको छ ।
नगरपालिकाका अनुसार कोहलपुर–११ स्थित नगर विकास समितिको करिब ३६ बिघा क्षेत्रफलमा बनेका ७५१ घर टहरा लगतमा फेला परेका छन् । शुक्रबार ती घरधुरीको लगत रुजु गर्ने कामसमेत गरिएको छ ।
नगरपालिकाकी कार्यपालिका सदस्य तथा विधायन समिति सदस्य सुनिता सुनारले लगत विवरणका आधारमा कोहलपुरभित्रका सुकुम्वासीलाई नगरभित्रै व्यवस्थापन गर्ने र बाहिरी जिल्लाका व्यक्तिलाई सम्बन्धित पालिकासँग समन्वय गरी पठाउने तयारी भइरहेको बताइन् । उनका अनुसार हालसम्मको तथ्याङ्कमा १५३ घरधुरी भूमिहीन दलित र १४१ घरधुरी भूमिहीन सुकुम्वासी रहेको पाइएको छ ।
नगरपालिकाले वैशाख १६ गते जारी सूचनामार्फत नयाँ अतिक्रमणमा कडाइ गर्ने र अवैध रूपमा निर्माण गरिएका घर टहरा वैशाख २५ गते साँझ ७ बजेसम्म स्वयं हटाउन आग्रह गरेको थियो । अन्यथा वैशाख २६ गते बिहान ६ बजेदेखि नगरपालिकाले कानुनअनुसार डोजर चलाएर संरचना हटाउने चेतावनी दिएको छ ।