© 2026
काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाएर क्षति न्यूनीकरण गर्नुपर्नेमा जोड दिएका छन् । जल तथा मौसम विज्ञान विभागद्वारा आज आयोजित राष्ट्रिय मनसुन फोरम कार्यक्रममा उनले जल तथा मौसमसम्बन्धी सूचनाको प्रभावकारी प्रयोगबाट जीउधनको सुरक्षा गर्न सकिने तथा सामाजिक, आर्थिक र भौतिक पूर्वाधारमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने बताए ।
मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी कार्ययोजना प्रभावकारी बनाउन मौसम पूर्वानुमानको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ । कृषि क्षेत्रमा मौसम पूर्वानुमानले बाली व्यवस्थापन, सिँचाइ तथा उत्पादन योजनामा सहयोग पुर्याउने बताउँदै मन्त्री श्रेष्ठले जलासय व्यवस्थापन, जलविद्युत् उत्पादन, यातायात, स्वास्थ्य तथा पूर्वाधार व्यवस्थापनमा पनि यसको उपयोगिता बढ्दो रहेको धारणा राखे ।
जलवायु परिवर्तनका कारण मौसम प्रणाली थप अनिश्चित र जटिल बन्दै गएको उल्लेख गर्दै उनले मौसम सेवाको गुणस्तर सुधार गर्न वैज्ञानिक केन्द्रहरूको विस्तार, अनुसन्धान प्रवर्द्धन तथा आधुनिक प्रविधिको प्रयोग आवश्यक रहेको बताए । एआई, मेसिन लर्निङ र आधुनिक ‘अल्गोरिदम’ प्रयोगमार्फत मौसम पूर्वानुमानलाई अझ प्रभावकारी बनाउनेतर्फ मन्त्रालय गम्भीर रहेको उनको भनाइ थियो ।
मन्त्री श्रेष्ठले मौसम तथा विपद् पूर्वानुमान प्रणालीले सानो सतर्कताबाट पनि ठूलो जनधनको क्षति रोक्न सक्ने उल्लेख गर्दै यस क्षेत्रमा कार्यरत प्राविधिक तथा विभागीय टोलीको प्रशंसा गरे ।