Butwal Today

लागू औषध र सुर्तीजन्य पदार्थ बिक्री रोक्न प्याब्सनको ध्यानाकर्षण

२४ बैशाख २०८३, बिहीबार
अ+
अ-

सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकाभित्रका विद्यालय वरपर भइरहेको लागू औषध तथा सुर्तीजन्य पदार्थको खुल्ला बिक्री–वितरण प्रति निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सिद्धार्थनगरले गम्भीर चिन्ता व्यक्त गरेको छ।

प्याब्सनले विद्यार्थीहरूको स्वास्थ्य, अनुशासन र भविष्यमा प्रत्यक्ष नकारात्मक असर परेको उल्लेख गर्दै सिद्धार्थनगर नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्याब्सन सिद्धार्थनगरका अध्यक्ष उदय कुमार मल्लिकका अनुसार विद्यालय पोसाकमै रहेका कक्षा १२ सम्मका विद्यार्थीहरूलाई समेत पान, गुट्खा, चुरोट, भेप र हुक्का जस्ता घातक वस्तुहरू सहजै उपलब्ध गराइँदा उनीहरूको भविष्य र स्वास्थ्यमा गम्भीर असर परिरहेको छ । उनले विद्यालय वरपरका पसलहरूमा मद्यपान र लागू औषधको समेत पहुँच बढ्दा विद्यार्थीहरू कुलतमा फस्ने जोखिम तीव्र देखिएको बताए  ।

यस विषयमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले विद्यार्थी र जनस्वास्थ्यको सुरक्षाका लागि नगरपालिका गम्भीर रहेको बताएका छन् । “गुट्खा र सुर्तीजन्य पदार्थले बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेको छ । जनस्वास्थ्यमा खेलबाड हुने खालका गतिविधिलाई निरुत्साहित गर्नुपर्छ,” नगर प्रमुख खाँले भने ।

उनले यस विषयमा सरोकारवालासँग छलफल भइरहेको र छिट्टै सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरे। आइतबार वा सोमबारसम्ममा ठोस निर्णय सार्वजनिक हुन सक्ने सङ्केत पनि दिएका छन् ।

प्याब्सन सिद्धार्थनगरले “विद्यार्थीहरूको भविष्य सुरक्षित गर्नु नै राष्ट्रको भविष्य सुरक्षित गर्नु हो” भन्दै नगरपालिकाले यस विषयमा शीघ्र प्रभावकारी कदम चाल्ने विश्वास व्यक्त गरेको छ ।

प्याब्सनका मुख्य मागहरू:

निषेधित क्षेत्र घोषणा: विद्यालय वरपर कम्तीमा १०० मिटर क्षेत्रभित्र सुर्तीजन्य र लागू औषध पदार्थको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने।

कडा कारबाही: विद्यालय पोसाकका विद्यार्थीहरूलाई सुर्तीजन्य सामग्री बेच्ने व्यवसायीहरूमाथि तत्काल दण्डनीय कारबाही गरिनुपर्ने।

नियमित अनुगमन: नगर प्रहरी र प्रशासनको समन्वयमा विद्यालय क्षेत्रमा नियमित अनुगमन र जनचेतनामूलक अभियान सञ्चालन गरिनुपर्ने।

कानुनी स्पष्टता: भेप, हुक्का र नयाँ प्रकारका नशालु वस्तुहरूलाई पनि स्पष्ट रूपमा कानुनी दायरामा ल्याई नियन्त्रण गर्नुपर्ने।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?