© 2026
रोल्पा ।
रोल्पाका विभिन्न स्थानीय तहमा असोज १० र ११ गते आएको भीषण हावाहुरी र अविरल वर्षाले मानवीय तथा भौतिक क्षतिसँगै ठूलो संख्यामा पशुचौपाया मरेका छन् । हावाहुरीका कारण घर तथा सार्वजनिक संरचनाका छाना उड्नुका साथै विद्यालय, स्वास्थ्य संस्था, सडक, विद्युत् तथा सञ्चार सेवामा समेत असर परेको छ । खेतबारीमा लगाइएको मकै, बर्खे बाली, फलफूल तथा तरकारीमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।
हावाहुरीका कारण सुनछहरी गाउँपालिका–२ भित्रीगाममा दुई जनाको मृत्यु भएको छ । जङ्गलमा पशुचौपाया चराउने क्रममा रुख ढल्दा करिब १६ वर्षीया अस्मिता बुढामगरको मृत्यु भएको हो । सोही क्षेत्रमा भेडा गोठालोबाट घर फर्किने क्रममा करिब ७० वर्षीय गोठी बुढामगरको पनि रुखले च्यापिएर मृत्यु भएको स्थानीयले बताएका छन् ।
सुनछहरी–२ का वडा अध्यक्ष कृष्णबहादुर बुढाका अनुसार भित्रीगामको विवाङ क्षेत्रमा पशुचौपाया चराइरहेका बेला अचानक आएको तीव्र हावाहुरीका कारण ठूलो रुख ढलेपछि अस्मिता बुढामगरलाई च्यापेको थियो । घटनास्थल दुर्गम र भौगोलिक रूपमा कठिन क्षेत्रमा रहेकाले उद्धारमा समेत समस्या भएको उनले बताए ।
घटनास्थलमा रुख तथा अन्य अवरोधका कारण शव निकाल्नसमेत कठिनाइ भएको स्थानीयले बताएका छन् । उक्त क्षेत्र अग्लो डाँडा तथा दुर्गम भूभागमा रहेकाले उद्धारका लागि आवश्यक जनशक्ति र उपकरण पुर्याउन समस्या भएको हो । हावाहुरीका कारण बाटोमा समेत ठाउँ–ठाउँमा रुख ढलेकाले आवतजावत प्रभावित भएको छ ।
हावाहुरीबाट सुनछहरी–२ मा ठूलो संख्यामा पशुचौपाया मरेको प्रारम्भिक विवरण छ । वडा अध्यक्ष बुढाका अनुसार उक्त क्षेत्रमा मात्रै करिब १५० भन्दा बढी गाई, भेडा तथा बाख्रा मरेको जानकारी आएको छ । यद्यपि पशुचौपायामा भएको क्षतिको यकिन विवरण भने संकलन हुन बाँकी रहेको उनले बताए ।
हावाहुरीका कारण सुनछहरी गाउँपालिका–२ का घर तथा सार्वजनिक संरचनामा समेत क्षति पुगेको छ । स्थानीयका घरका जस्तापाता उड्नुका साथै विद्यालय तथा स्वास्थ्य संस्थाका भवनमा पनि क्षति पुगेको जनाइएको छ । हावाहुरीसँगै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुँदा उद्धार तथा राहत कार्यमा थप कठिनाइ भएको छ ।
रोल्पाको थबाङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पनि हावाहुरीले घर तथा भौतिक संरचनामा क्षति पुर्याएको छ । थबाङ–२ अन्तर्गत फुली र लाडने क्षेत्रमा प्रभावित परिवारलाई तत्काल आश्रयका लागि त्रिपाल वितरण गरिएको छ । वडा अध्यक्ष अभिलाषा रोकामगरको पहलमा प्रभावित परिवारलाई त्रिपाल उपलब्ध गराइएको जनाइएको छ ।
थबाङ गाउँपालिका–५ उवा अन्तर्गत दाङसगा, नम्छिगुङ, साजाङ र पुप्पालगायतका क्षेत्रमा पनि हावाहुरीले क्षति पुर्याएको स्थानीयले बताएका छन् । घरका ढुङ्गा तथा जस्तापाताका छाना उड्नुका साथै काँचो गारो भएका घरमा आंशिक तथा पूर्ण क्षति पुगेको विवरण प्राप्त भएको छ ।
रोल्पाका विभिन्न स्थानमा रहेका विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सार्वजनिक संरचनाका जस्तापाता हावाहुरीले उडाएको प्रारम्भिक विवरणसमेत प्राप्त भएको छ । विपद्का कारण प्रभावित क्षेत्रमा उद्धार, क्षतिको विवरण संकलन तथा राहत व्यवस्थापनको काम स्थानीयस्तरबाट भइरहेको जनप्रतिनिधिले बताएका छन् ।
स्थानीय जनप्रतिनिधिका अनुसार अहिले प्राप्त विवरण प्रारम्भिक मात्रै भएकाले हावाहुरीबाट भएको क्षतिको वास्तविक परिमाण अझै बढ्न सक्ने देखिएको छ । सञ्चार तथा यातायात सेवा सहज भएपछि मात्रै विभिन्न बस्ती, जङ्गल, खेतबारी तथा पशु गोठमा भएको क्षतिको विस्तृत विवरण संकलन गर्न सकिने जनाइएको छ ।
हावाहुरीबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित आवास, खाद्यान्न तथा आवश्यक राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त घर तथा सार्वजनिक संरचनाको स्थलगत अनुगमन आवश्यक देखिएको छ । दुर्गम पहाडी क्षेत्रमा सञ्चार तथा विद्युत् सेवा अवरुद्ध हुँदा विपद्का समयमा उद्धार र राहत परिचालनमा थप चुनौती देखिएको स्थानीय जनप्रतिनिधिले बताएका छन् ।