© 2026
नवलपरासी ।
देशभर सडक कालोपत्रे निर्माणमा प्रयोग हुने मुख्य कच्चा पदार्थ बिटुमिनको अभाव भएपछि विभिन्न विकास आयोजना प्रभावित हुन थालेका छन् ।
विशेष गरी निर्माणको मुख्य सिजनमै बिटुमिन पर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा सडक कालोपत्रे कार्य सुस्त बनेको निर्माण व्यवसायीहरूले बताएका छन् ।
निर्माण व्यवसायीका अनुसार आयात प्रक्रिया ढिलाइ, आपूर्ति व्यवस्थापनमा समस्या तथा बजारमा सीमित उपलब्धताका कारण बिटुमिन अभाव सिर्जना भएको हो ।
यसको प्रत्यक्ष असर सङ्घ, प्रदेश तथा स्थानीय तहअन्तर्गत सञ्चालित सडक निर्माण तथा स्तरोन्नति योजनामा परेको छ । विशेष गरी स्थानीय तहको मुख्य विकासको आधार मानिएको सडक सञ्जालको कालोपत्रेका लागि बिटुमिन अभावले अन्य क्षेत्र पनि प्रभावित हुन सक्ने बताइन्छ ।
बिटुमिन अभावका कारण कतिपय स्थानमा कालोपत्रे कार्य रोकिएको छ भने केही आयोजनामा निर्माण कम्पनीहरूले कामको गति घटाएका छन् । समयमै सामग्री उपलब्ध नहुँदा निर्धारित समयमा योजना सम्पन्न गर्न चुनौती थपिएको निर्माण पक्षको भनाइ छ ।
स्थानीय तहहरूले वर्षा याम अघि सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखे पनि आवश्यक सामग्री अभावले काम प्रभावित बनेको जनाएका छन् ।
विशेष गरी ग्रामीण सडक, नगरभित्रका कालोपत्रे योजना तथा रणनीतिक सडक आयोजनामा यसको असर देखिन थालेको छ । एकातिर बिटुमिन अभाव र अर्कातिर इन्धनमा भएको मूल्य वृद्धिले निर्माण व्यवसायी थप मारमा परेका छन् । बिटुमिन अभावले समयमै आयोजनाहरू निर्माण सम्पन्न गर्न कठिनाइ हुने देखिएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले बताए । नवलपरासी पश्चिममा मात्रै यिनै विविध कारणले ७० प्रतिशत विकास निर्माणका आयोजना प्रभावित भएको सरोकारवालाले बताएका छन् ।
“एक त बिटुमिन पाइएको छैन, अर्कातिर चरम मूल्य वृद्धि, लागत स्ट्मेट एउटा रेटमा छ तर कच्चा पदार्थको मूल्य वृद्धिले आकाश छोएको छ, हामी त मारमा त छौ नै यता काम नहुने अवस्था आउँदा विकास निर्माण नै अधुरो रहने अवस्था आएको छ ” बर्दघाटमा रहेको दाउन्ने कन्स्ट्रक्सनका सञ्चालक रामु भण्डारी (युके) ले बताए ।
निर्माण व्यवसायीहरूले सरकारसँग बिटुमिनको सहज आयात तथा वितरण व्यवस्था मिलाउन माग गरेका छन् । समयमै समस्या समाधान नभए विकास निर्माणको काम थप प्रभावित हुने तथा लागत समेत बढ्न सक्ने उनीहरूले चेतावनी दिए ।