© २०२३
बुटवल, २ माघ ।
सैनामैना नगरपालिका वडा नम्बर ५ की खिमिसरा थापाले आइतबार छोरीका लागि बटुक बनाइरहेकी थिइन् । छोरीले बटुक धेरै नै मन पराउने भएकाले माघे संक्रान्तिमा छोरीलाई पठाउनका लागि भन्दै उनले बटुक बनाउँदै थिइन् । त्यहीबेला उनले परिवारकै सदस्यबाट एक्कासी विमान दुर्घटनाको खवर सुनिन् । यति एयरलाइन्सको एअर होस्टेसमा कार्यरत उनकी एकमात्र छोरी सिर्जना हुङचुङ (सुर्जु थापा) का लागि बनाइरहेको बटुक न त उनले छोरीलाई पठाउन पाइन्, न त छोरीको अन्तिमपटक अनुहार देख्न नै ।
काठमाडौंबाट पोखरा आउने क्रममा भएको यती एअरको विमान दुर्घटनाबाट छोरी गुर्माएकी खिमिसरा अहिलेसम्म विक्षिप्त छन् । सिर्जनाकी भाउजु सरस्वती थापा घरबाट काठमाडौं जाने भएकाले खिमिसराले सिर्जननाका लागि बटुक पठाउने तयारी गर्दै थिइन् । बटुक बनाउँदै गर्दा आएको दुर्घटनाको खवरले खिमिसराको होस हवास् उड्यो ।
सिर्जनाले परिवारका सदस्यसँग अन्तिमपटक गत शनिबार मात्र भिडियो कल गरेकी थिइन् । त्यो भिडियो संवादमा उनले आइतबार पोखरा फ्लाइट रहेको बताएकी थिइन् । बटुक बनाउँदै गर्दा यतीको विमान पोखरामा दुर्घटना भएको खवरले परिवारका सदस्यले सहजै अनुमान लगाए–“पक्कै पनि सिर्जना दुर्घटामा परिन्, नभन्दै त्यस्तै भैदियो ।”
सिर्जनाका भिनाजु रेवन्दबहादुर सिंजालीले सिर्जना परिवारकी एक्ली छोरी भएको बताए । परिवारमा सिर्जनाका बुबाआमा, तीन दाजुभाई, दुईजना भाउजु र भदाभदै छन् ।
आइतबार रातिसम्म आमा खिमिसरालाई सिर्जनाका मृत्युबारे आफन्तले थाहा दिएनन् । “दुर्घटनामा परेपनि केही भएको छैन भने सम्झाउने प्रयास गर्यौं, तर रातिथ १० बजे मात्र हामीले मृत्युको खवर सुनायौं”–सिर्जनाका भिनाजु सिंजालीले भने ।
उनले सैनामैनामा रहेको सिद्धार्थ मेमोरियल इङलिश बोर्डिङ स्कुलबाट विद्यालय शिक्षा पूरा गरी क्रिमशन कलेज अफ टेक्जोलोजीबाट स्नातक तह अध्ययन गरेकी थिइन् । स्नातक अध्ययनपछि उनले काठमाडौंमा रहेको शहारा इन्टरनेशनल कलेजबाट एअरहोस्टेस अध्ययन गरिन् । उनले बुटवलमै पनि एयर होस्टेस तालिम लिएकी थिइन् । अध्ययन र तालिमपछि सिर्जनाले २०७२ सालदेखि एअर होस्टेसको रुपमा यती एअरलाइन्समा काम गर्न थालेकी थिइन् ।
उनको लगाव र मेहनतका कारण बढुवा हुने क्रममा थिइन् । सिर्जना बोइङको परिचारिका बन्ने लिस्टमा समेत छनौट भइसकेकी थिइन् ।
यती एअरलाइन्समा काम गर्न थालेदेखि उनी काठमाडौंमै बस्थिन र बेलाबेला छुट्टी हुँदा आफ्नो घर सैनामैना आउँथिन् । सिर्जना अन्तिम पटक गएको दसैंमा घर आएकी थिइन् ।एक हप्ताको बिदामा आएकी उनी घरमा भाई बिरामी भएका कारण केही दिन बिदा थप गरिन् ।
भदौ अन्तिम सातातिर सृजना भाइ कमल बिरामी हुँदा पनि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएम) आएर तीन÷चार दिन बसेकी थिइन् । सम्पूर्ण उपचार खर्च तिरेर भाइलाई घर पठाएपछि मात्रै उनी आफू काठमाडौं फर्किएकी थिइन् ।
छोरीको दुर्घटनाको खवर सुनेपछि सिर्जनाका बाबु रिमबहादुर एकोहोरो टोलाइरहन्छन् । “सिर्जनाका बुबा बिरामी भैरहनुहुन्छ, मृत्युको खवर सुनेपछि बोल्न सक्नुभएको छैन”–रिमबहादुरले भने । २९ वर्षीया सिर्जना सैनामैना नगरपालिका वडा नं. ५, सेरहवा निवासी थिइन् । उनको जन्म भने पाल्पाको बगनाशकाली–९ मा भएको हो । पछि परिवार बसाइसराई गरी रुपन्देहीको सैनामैना झ¥यो । उनको मृत्युले सिंगो गाउँ शोकमा डुवेको छ । विमान दुर्घटनामा मृत्यु भएकी सिर्जनाको सनाखत पोखरामै रहेका आफन्तले गरेका छन् ।
चालक दलका सदस्यसमेत ७२ जना सवार यती एयरलाइन्सको जहाज अवतरणका क्रममा आइतबार पोखरामा दुर्घटनामा परेको हो ।