© 2026
चन्द्रौटा (कपिलवस्तु) । कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । कपिलवस्तु नगरपालिका–११ निग्लिहवा स्थित तौलिहवा–चार नम्बर सडक खण्डमा आज दिउँसो करिब २ बजे लु १ ख ८७९४ नम्बरको बस अनियन्त्रित भई सडक किनारमा पल्टिँदा दुर्घटना भएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका अनुसार तौलिहवाबाट चार नम्बरतर्फ जाँदै गरेको बस अचानक नियन्त्रण बाहिरिएर पल्टिएको थियो । दुर्घटनापछि घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक राजन ढकालले जनाए ।
दुर्घटनामा घाइतेमध्ये ६ जनाको अवस्था मध्यम र १३ जनाको अवस्था सामान्य रहेको छ । केही घाइतेलाई जिल्ला अस्पताल तौलिहवामा प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्र रिफर गरिएको छ भने सामान्य घाइतेहरूको उपचार युनाइटेड अस्पताल ठकुरापुरमा भइरहेको छ ।
बस चालक बाणगंगा नगरपालिका–४ हरिहरपुरका ३८ वर्षीय शङ्कर सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ ।