© 2026
भैरहवा । भैरहवामा ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनका खेलहरू शुक्रबारदेखि सञ्चालन हुने भएको छ ।
रुपन्देही क्रिकेट सङ्घको आयोजनामा हुने प्रतियोगितामा जिल्लाका १२ वटा ‘ए’ डिभिजन टोली सहभागी हुने सङ्घले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
प्रतियोगिता जेठ ९ गतेसम्म चल्ने छ । प्रतियोगिताको शीर्ष प्रायोजनका लागि पञ्चकन्या समूहसँग सम्झौता गरिएको छ । यसअघि ‘बी’ डिभिजनका खेलहरू चैत १७ देखि ३० गतेसम्म सम्पन्न भइसकेका छन् ।
पञ्चकन्या समूहका प्रबन्ध निर्देशक देवेन्द्र साहुले खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यले सहकार्य गरिएको बताए । सङ्घका अध्यक्ष हरिबहादुर थापाले रुपन्देहीमा क्रिकेटको लोकप्रियता बढ्दै जाँदा ठुला प्रतियोगिता आयोजना गर्न सहज हुँदै गएको उल्लेख गरे ।
प्रतियोगितामा करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । विजेता टोलीले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा नगद पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा विभिन्न चर्चित क्लबहरूको सहभागिता रहनेछ भने ‘बी’ डिभिजनबाट उक्लिएका बुद्ध र देवदह क्लब पनि प्रतिस्पर्धामा देखिनेछन् ।