Butwal Today

लुम्बिनी विकास कोषले सञ्चार संस्थाको रकम अझै भुक्तानी गरेन

१६ बैशाख २०८३, बुधबार
अ+
अ-
बुटवल । गत वर्ष आयोजित बुद्ध पूर्णिमा समारोहका अवसरमा विभिन्न सञ्चार माध्यममार्फत गरिएको प्रचार–प्रसारको भुक्तानी हालसम्म नपाएको भन्दै प्रकाशन तथा प्रसारण सङ्घ, लुम्बिनीले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा लुम्बिनी विकास कोषले प्रचार–प्रसारमा संलग्न पत्रपत्रिका, टेलिभिजन तथा अन्य मिडिया संस्थाहरूलाई दिनुपर्ने रकम लामो समयदेखि रोकिएको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार सम्बन्धित मिडिया संस्थाहरूले प्रचार–प्रसारबापतको भ्याट बिलसमेत नियमानुसार नेपाल सरकारलाई बुझाइसकेका छन् । तर, त्यसपछि पनि भुक्तानी प्रक्रिया अनावश्यक रूपमा ढिलाइ हुनु दुःखद, आपत्तिजनक र गैर जिम्मेवार कार्य भएको सङ्घको ठहर छ ।
सङ्घका अध्यक्ष नवराज कुँवरले यस्तो ढिलासुस्तीले मिडिया क्षेत्रको आर्थिक स्थायित्वमा प्रत्यक्ष असर पार्नुका साथै पेसागत गरिमामाथि समेत प्रश्न उठाएको बताएका छन् ।
सङ्घले लुम्बिनी विकास कोषलाई बाँकी सम्पूर्ण भुक्तानी यथाशीघ्र, बिना कुनै बहाना उपलब्ध गराउन कडा आग्रह गरेको छ । साथै, माग सम्बोधन नभए कानुनी तथा संस्थागत रूपमा सशक्त कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
मिडिया क्षेत्रले समयमै भुक्तानी नपाउँदा सञ्चालनमा कठिनाइ उत्पन्न भइरहेको भन्दै सरोकारवाला निकायले यस विषयमा गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?