Butwal Today

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

नेपालगन्ज (बाँके) । बाँकेमा आर्थिक वर्ष २०८२र८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ ।

जैविक मार्ग आसपासमा बढेको बस्ती र गर्मी मौसममा पानीको खोजीमा भौँतारिँदै हिँडेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

उनले विगतका वर्षभन्दा चालु आवमा विभिन्न वन्यजन्तुको उद्धार गर्ने कार्यमा वृद्धि हुँदै गएको उल्लेख गर्दै चित्तल, नीलगाईजस्ता वन्यजन्तु जैविक मार्ग क्षेत्र आसपास पानी खोज्दै हिँडेकाले र पुरानो बस्ती भएको क्षेत्र पुरानो जङ्गल क्षेत्रमा सर्प भएकाले पनि उद्धार गरिएको बताए ।

“पछिल्लो समय सर्प मार्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ, यो असाध्यै सकारात्मक विषय हो”, उनले भने ।

आव २०८१ र ८२ मा वन कार्यालयले विभिन्न प्रजातिका १३८ वटा वन्यजन्तुको उद्धार गरेको थियो । त्यसै गरी आव २०८०र८१ मा ९९, आव २०७९र८० मा ४२, आव २०७८र७९ मा ३१, आव २०७७र७८ मा ३४ र आव २०७६र७७ मा १७ वटा वन्यजन्तुको उद्धार भएको डिभिजन वन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । यसले हरेक वर्ष उद्धार गरिने वन्यजन्तुको सङ्ख्यामा उल्लेख्य वृद्धि हुँदै गएको देखिएको छ ।

चालु आवको हालसम्म घाइते, टुहुरा, बाटो बिराई गाउँ बस्तीमा प्रवेश गरेका तथा सङ्कटमा परेका विभिन्न प्रजातिका १५६ वटा वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत सुवेदीले बताए ।

जिल्लाका नेपालगन्ज, कोहलपुर, खजुरालगायत स्थानबाट चित्तल, धामन, हुचिल, करेत, गोमन, सुनगोहोरो, गोही, पानीसर्प, राज गोमन, अजिङ्गर, बँदेल, नीलगाई, रसेल भाइपर तथा कालो बिरालोलगायत वन्यजन्तुको उद्धार गरिएको वरिष्ठ वन अधिकृत सुवेदीले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा बढी सर्प प्रजातिको उद्धार गरिएको छ । विभिन्न प्रजातिका १३४ वटा सर्पका उद्धार भएको हो । जसमध्ये ६८ वटा गोमन, २६ धामन, १९ करेत, अजिङ्गर नौ वटा, सात वटा रसेल भाइपर, चारवटा पानीसर्प र एउटा राज गोमन रहेका छन् । त्यसै गरी गोही आठ, सुनगोहोरो चार, चित्तल चार, नीलगाई तीन र हुचिल, बँदेल तथा कालो बिरालो एक–एकवटा उद्धार गरिएको छ ।

उद्धार गरिएका वन्यजन्तुलाई बाँकेको विभिन्न राष्ट्रिय तथा सामुदायिक वनमा पुनर्स्थापना गरिएको उनले बताए । केही वन्यजन्तुलाई बाँके राष्ट्रिय निकुञ्जमा पठाइने गरिएको छ । घाइते वन्यजन्तुलाई डिभिजन वन कार्यालयमा राखेर आवश्यक औषधि उपचारपश्चात् पूर्ण रूपमा निको भएपछि मात्र जङ्गलमा पुनः स्थापना गरिँदै आइएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?