Butwal Today

भेरी अस्पतालमा तनाव चर्कियो: चिकित्सकमाथि हातपात प्रयासपछि सेवा प्रभावित

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पताल मा उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि उत्पन्न विवाद अहिले गम्भीर तनावमा परिणत भएको छ ।

बढ्दो तनावका कारण अस्पतालको नियमित सेवा समेत प्रभावित भएको छ भने चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीमाथि कार्यकक्षमै हातपातको प्रयास भएपछि अवस्था झन् जटिल बनेको हो ।

आइतबार उपचारका क्रममा बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विश्वकर्माको मृत्यु भएपछि पीडित पक्षको आक्रोशका कारण अस्पतालमा तनाव बढ्दै गएको हो ।  घटनापछि सुरक्षा अवस्था कमजोर भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् । हाल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ ।

आक्रोशित एक समूह मंगलबार बिहान अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुवेदीको कार्यकक्षमा पसेर हातपातको प्रयास गरेको थियो । चिकित्सकहरूलाई अस्पतालमै हातपातको प्रयास र धम्की दिइएपछि प्रहरीले सुरक्षा घेरामा राख्दै अस्पतालका प्रमुखसहित केही चिकित्सकलाई जिल्ला प्रशासन कार्यालय बाँकेसम्म पु¥याएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले आफूहरू सुरक्षित वातावरणमा काम गर्न नसकेको गुनासो गरेका छन् । “काम गर्ने वातावरण छैन, मनोबल खस्किएको छ,” एक स्वास्थ्यकर्मीले बताएका छन् ।

यस घटनाले सोमबार दिनभर अस्पताल परिसर तनावग्रस्त रह्यो । मृतकका आफन्तहरूले चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाउँदै विरोध जनाएका हुन् । समस्या समाधानका लागि गरिएको संवाद प्रयास समेत सफल हुन सकेन ।

छलफलमा सहभागी बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनार माथि समेत अभद्र व्यवहार भएपछि वार्ता निष्कर्षविहीन बनेको बताइएको छ । यद्यपि, बैठकमा पोस्टमार्टमपछि शव बुझ्ने र कानुनी प्रक्रियामा जाने सहमति बनेको एक अस्पताल व्यवस्थापन समितिका सदस्यले बताएका छन् ।

तर पीडित परिवारले चिकित्सकविरुद्ध किटानी जाहेरीमार्फत कडा कानुनी कारबाही हुनुपर्ने अडान राख्दै आएका छन् । उता चिकित्सकहरूले भने यस्ता घटनामा भीडको दबाबभन्दा प्राविधिक अनुसन्धान आवश्यक हुने बताएका छन् ।

“मृत्युलाई सधैँ डाक्टरले जित्न सक्दैन,” उनीहरूको भनाइ छ, “भीड र बार्गेनिङबाट समाधान खोज्दा यसले स्वास्थ्य क्षेत्रमा गम्भीर असर पार्न सक्छ ।” चिकित्सकहरूले घटनाको निष्पक्ष छानबिन गरी गलत नजिर बस्न नदिने गरी समाधान खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?