Butwal Today

पोर्चुगलमा पहिलो नेपाली अग्नि नियन्त्रक भण्डारी 

१५ बैशाख २०८३, मंगलवार
अ+
अ-

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली यहाँको स्वयंसेवी अग्नि नियन्त्रक बन्न सफल भएका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ का ४२ वर्षीय धरमराज भण्डारी पोर्चुगलको पहिलो नेपाली अग्नि नियन्त्रक (बोम्बेइरो) बन्न सफल भएका हुन् । करिब डेढ वर्ष लामो अग्नि नियन्त्रण, आपत्कालीन सेवा तथा उद्धारसम्बन्धी कोर्स र कठिन तालिम सफलतापूर्वक पूरा गरी प्राविधिक तथा शारीरिक योग्यता हासिल गरेपछि भण्डारी स्वयंसेवी अग्नि नियन्त्रक बनेका हुन् ।

तालिम पश्चात् भण्डारीले आवश्यक प्रक्रिया पूरा गरी सेतुबालको मोइता नगरपालिका अन्तर्गत रहेको ‘बोम्बेइरोस् भोलुन्टारियोस दा मोइटा’ को अग्नि नियन्त्रक दलमा आबद्ध भएका हुन् ।

‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’ ले केही साता अघि भण्डारीलाई एक औपचारिक समारोहका बिच स्वयंसेवी अग्नि नियन्त्रकका रूपमा सेवामा प्रवेश गराएको हो । सो अवसरमा भण्डारीसहित अन्य पाँच जना नयाँ अग्निनियन्त्रकहरूलाई पनि सेवामा प्रवेश गराएको थियो ।

भण्डारी सहित नवनियुक्त अग्निनियन्त्रकहरूले संस्थाको झण्डासामु शपथ ग्रहण गर्दै सम्मान, कर्तव्य बोध र जिम्मेवारीका साथ समुदायको सेवामा समर्पित रहने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पोर्चुगलको स्वयंसेवी अग्नि नियन्त्रक (बोम्बेइरो) बन्न पाउँदा आफूलाई अत्यन्तै खुसी र गर्वको महसुस भएको भण्डारीले प्रतिक्रिया दिए । ‘विदेशी भूमिमा मानवीय सेवासँग जोडिन पाउँदा एउटा नेपालीको नाताले गर्व र गौरवको अनुभूति भएको छ ।

पोर्चुगलले हामीलाई धेरै कुरा दिएको छ, हामीले पनि केही न केही योगदान गर्नुपर्छ भन्ने उद्देश्यले यो सेवामा जोडिएको हुँ,’ भण्डारीले भन्नुभयो, ‘यसलाई आत्मसन्तुष्टि र सौभाग्यका रूपमा लिएको छु ।’ उनका अनुसार यो सेवा पूर्ण रूपमा स्वयंसेवी हो । यसमा कुनै सेवा सुविधा तथा पारिश्रमिक हुँदैन । ‘यो विशुद्ध सामाजिक र मानवीय सेवा हो, जसले छुट्टै सन्तुष्टि र आनन्द दिन्छ,’ उनले अगाडि थपे ।भण्डारीको अग्नि नियन्त्रक बन्ने यात्रा भने त्यति सहज थिएन । सुरुवातमा उनले पोर्चुगलका आधा दर्जनभन्दा बढी अग्नि नियन्त्रण सेवा संस्थामा कोर्स र तालिममा आबद्ध हुनका लागि प्रयास गरेका थिए, तर धेरै ठाउँबाट अस्वीकृत हुनुपरेको थियो । अग्नि नियन्त्रण संस्थाको प्रशासनमा गएर अग्नि नियन्त्रक बन्ने लक्ष्य सुनाउँदा धेरैले अचम्म मानेको उनले बताए ।

अन्ततः ‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’ले उनलाई अवसर दियो । उक्त अवसरलाई आफूले कडा मिहिनेतका साथ सदुपयोग गरेको भण्डारीले बताए । तालिमका क्रममा पोर्चुगिज भाषा ठुलो चुनौती बनेको उनले सुनाए । ‘भाषा राम्रो छैन, कसरी अग्नि नियन्त्रक बन्नुहुन्छ ?’ भन्ने प्रश्न समेत उनले सामना गर्नुपरेको थियो । ‘म सक्छु र गर्छु भन्ने आत्मविश्वासका साथ अन्तिम समयसम्म समर्पित भएर लागिरहेँ अन्ततः सफल भएँ,’ उनले खुसी व्यक्त गर्दै संघर्षका पलहरू सुनाए ।

आफू छनोट भई नियुक्तिको प्रक्रिया चलिरहेकै बेला विदेशी नागरिकलाई अग्नि नियन्त्रकका रूपमा नियुक्त दिन नहुने भन्दै आफ्नो विरुद्धमा प्रशासनमा उजुरी परेको रोचक घटना समेत भण्डारीले सुनाए । तर प्रशासनले भने उक्त उजुरीलाई अस्वीकार गर्दै आफूलाई नियुक्ति दिएर अग्नि नियन्त्रक दलको सेवामा प्रवेश गराएको उनले बताए ।

भण्डारीका अनुसार सँगै तालिममा सहभागी भएका केही पोर्चुगिजहरूले बीचमै तालिम छोडेर गए । जसमा कुल २२ जना सहभागी भएकामध्ये ६ जना मात्रै छनोट हुन सफल भए । तीमध्ये एसियाली मुलुकबाट आफू मात्र सहभागी भएको पनि उनले बताए ।

आफू अग्नि नियन्त्रकका रूपमा आबद्ध हुँदा पोर्चुगिजहरू अत्यन्तै खुसी भएको उनले सुनाए । आफू अग्नि नियन्त्रक बन्नुमा ‘बोम्बेइरोस् भोलुन्तारियोस दा मोइटा’का कमाण्डर पेड्रो फेरेइराको महत्त्वपूर्ण भूमिका रहेको भण्डारीले बताए । भाषाको कठिनाइका बाबजुद पनि सुरुवाती दिनदेखि नै कमाण्डरको निरन्तर सहयोग, मार्गदर्शन र उत्प्रेरणाले आफूलाई अग्नि नियन्त्रक बन्न सहज भएको उनले बताए ।

भण्डारीको शपथ ग्रहण समारोहमा पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल समेत विशेष अतिथिका रूपमा सहभागी भएका थिए । पोर्चुगलको अग्नि नियन्त्रण सेवामा नेपालीको औपचारिक आबद्धताले नेपाल र नेपालीको गौरव बढाएको राजदूत पौडेलले बताए ।

भण्डारीको उपलब्धि सिंगो नेपाली समुदायका लागि प्रेरणादायी र गर्वको विषय भएको उल्लेख गर्दै उनले पोर्चुगलमा आप्रवासी नेपाली समुदायको सकारात्मक छविलाई थप उजागर गरेको बताए । उक्त समारोहमा सहभागी उच्च अधिकारीहरूले समेत भण्डारीको उदाहरण प्रस्तुत गर्दै नेपाली समुदायको खुलेर प्रशंसा गरेको पौडेलले बताए ।

भण्डारीको आबद्धताले नेपाली समुदायलाई स्थानीय समाजसँग अझ घुलमिल हुँदै सामाजिक तथा मानवीय सेवाका गतिविधिमा सक्रिय हुन प्रेरित गरेको उनले बताए । यस्ता खालका सामाजिक गतिविधि र योगदानले जनस्तरमा नेपाल र नेपालीको इज्जत बढाउन तथा दुई देशबिचको सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने राजदूत पौडेलले बताए ।

लामो समय अरबका विभिन्न मुलुकमा रोजगारी गरेर पाँच वर्षअघि पोर्चुगल आएका भण्डारी सुरुमा रेस्टुरेन्टमा काम गरे । रेष्टुरेन्टको काम छाडेपछि उनले एक कम्पनीमा मेकानिक्सका रूपमा काम सुरु गरे ।

काम, कागजात र पारिवारिक बसाइलगायतका सबै कुराको अनुकूलता मिल्दै गएपछि सामाजिक सेवा भावका रूपमा यो सेवामा आबद्ध भएको उनले बताए । युवा अवस्थामै भारत बसाइका क्रममा सामाजिक र मानवीय सेवामा लाग्नुपर्छ भन्ने प्रेरणा पाएको र सोही प्रेरणाले समाजका लागि केही न केही योगदान गर्नुपर्छ भन्ने भावना जागृत भएको उनले बताए ।

रोजगारीका सिलसिलामा अरबका विभिन्न मुलुकमा रहँदा समेत रक्तदानलगायतका सामाजिक कार्यमा संलग्न रहने गरेको उनले सुनाए ।पोर्चुगलको अग्नि नियन्त्रण सेवा सरकारी तथा स्वयंसेवी दुवै संरचनामा आधारित छ, जसले राज्यको नियमन, स्थानीय सरकारको सहयोग र पेसागत संयन्त्रसँगको समन्वयमा संयुक्त रूपमा काम गर्दै आएको छ ।

नागरिकहरूले आवश्यक तालिम लिएर स्वयंसेवी अग्नि नियन्त्रकका रूपमा आगलागी नियन्त्रण, उद्धार तथा आपत्कालीन सेवामा सक्रिय भूमिका निर्वाह गर्छन् । यहाँको अग्नि नियन्त्रण सेवा आगलागी नियन्त्रणका साथै आकस्मिक चिकित्सा, एम्बुलेन्स सेवा, सडक दुर्घटना, बाढी तथा अन्य प्राकृतिक प्रकोपका बेला आपत्कालीन उद्धार र राहत कार्यमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएको छ ।

यो सेवालाई सामाजिक सम्मानका साथ लिइन्छ र समुदायमा आपसी सहयोग तथा मानवीय सेवाको महत्त्वपूर्ण माध्यम मानिन्छ । आगलागी तथा आपत्कालीन उद्धार र राहत कार्यमा अग्रपङ्क्तिमा खटिनुपर्ने भएकाले अग्नि नियन्त्रण सेवालाई अत्यन्तै जोखिमपूर्ण, चुनौतीपूर्ण, संवेदनशील र साहसिक कार्यका रूपमा समेत लिइन्छ ।

नेपाली नागरिक भण्डारीको यो सहभागिताले पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको गौरव बढाएको छ भने यहाँको समाजमा नेपालीहरूको पहिचान, योगदान र सामाजिक एकीकरणप्रतिको सकारात्मक सन्देश पनि दिएको छ ।

भण्डारीले आफूले पाएको अवसरलाई सामाजिक दायित्व र जिम्मेवारीका रूपमा लिएको बताए । ‘समुदायको सेवा गर्ने अवसर पाउनु मेरा लागि गर्व र सौभाग्यको कुरा हो । आगामी दिनमा अझ इमानदारी र समर्पणका साथ काम गर्नेछु,’ उनले भने । भण्डारी परिवारसहित पोर्चुगलमा बसोबास गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?