Butwal Today

जथाभाबी पार्किङमा साङ्लो कारबाही

११ बैशाख २०८३, शुक्रबार
अ+
अ-

चन्द्रौटा । चन्द्रौटा बजारमा गाडीको चाप बढ्दो छ । सडक किनारमा मोटरसाइकल, अटो र साना–ठुला सवारीसाधन जथाभाबी रोकिएका छन् ।

पैदल हिँड्नेहरूलाई साँघुरो ठाउँ, सवारी चालकलाई जाम–दैनिक दृश्यजस्तै बनेको थियो । तर, केही दिन यता यो दृश्यमा एउटा नयाँपन थपिएको छ –सवारीसाधनका पाङ्ग्रामा बाँधिएको साङ्लो ।

कपिलवस्तु ट्राफिक प्रहरीले अव्यवस्थित पार्किङविरुद्ध ‘साङ्लो एक्सन’ सुरु गरेपछि चन्द्रौटा बजारको रूप फेरिन थालेको छ । नियम उल्लङ्घन गर्दै सडकमै सवारी राख्ने चालकलाई नियन्त्रणमा लिन अब साङ्लो प्रयोग हुन थालेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालका अनुसार बढ्दो सवारी चाप र सीमित साधनका कारण नयाँ उपाय अपनाउनु परेको हो । “हामीसँग पर्याप्त ह्वील लक छैन् । त्यसैले विकल्पका रूपमा साङ्लो प्रयोग गरेका हौँ,” उनी भन्छन्, “उद्देश्य कारबाही मात्रै होइन, चेतना जगाउनु पनि हो ।”

शिवराज नगरपालिका वडा नम्बर ५, को प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको चन्द्रौटा बजारमा वर्षौँदेखि पार्किङ व्यवस्थापन चुनौतीपूर्ण रहँदै आएको छ । यात्रुवाहक सवारी र अटोका लागि छुट्टै पार्किङ स्थल तोकिए पनि व्यवहारमा त्यसको पालना कमजोर देखिन्छ ।

सडक किनारमै सवारी रोकिने, पसल अगाडि मोटरसाइकल थुप्रिने र चोकमै अटो पार्क गरिने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई झन् जटिल बनेको थियो । यसले केवल जाम बढाउने मात्र नभई, दुर्घटनाको जोखिम पनि बढाएको थियो ।

पहिला सामान्य जरिवानामा सीमित कारबाहीले चालकहरूलाई खासै असर नपारेको ट्राफिक सहायक प्रहरी निरीक्षक दीपकराज गिरीले बताए । तर सवारीसाधन नै साङ्लोले बाँधिएपछि भने चालकहरू सतर्क हुन थालेका छन् ।

स्थानीय व्यवसायी रहमान शाह भन्छन्, “पहिले जसले जहाँ मन लाग्यो त्यहीँ गाडी राख्थे । अहिले साङ्लो देखेपछि सबै अलि डराउन थालेका छन् ।” सर्वसाधारण पनि यसलाई सकारात्मक लिएका छन् । पहिले हिँड्नै गाह्रो हुन्थ्यो । अहिले सडक खुला भएको स्थानीय बताउँछन् ।”

ट्राफिक प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले बजार क्षेत्रमा नियमित अनुगमन गरिरहेको छ । विशेष गरी व्यस्त चोक, विद्यालय आसपास र मुख्य सडकहरूमा निगरानी बढाइएको छ । ट्राफिक प्रहरीका अनुसार तोकिएको पार्किङ स्थल प्रयोग नगर्ने सवारीसाधन माथि साङ्लो बाँध्ने, जरिवाना गर्ने र आवश्यक परे थप कारबाही गर्ने नीति समेत अपनाइएको छ ।

यद्यपि अहिलेका लागि भने ‘साङ्लो एक्सन’ ले चन्द्रौटा बजारमा ट्राफिक अनुशासनतर्फ सानो तर प्रभावकारी परिवर्तन ल्याएको छ । तर व्यवस्थित पार्किङ नहुँदा समस्या यथावत रहेको एक स्थानीयले बताए ।

“साङ्लो प्रयोग तत्कालीन समाधानका रूपमा प्रभावकारी देखिएपनि दीर्घकालीन रूपमा व्यवस्थित पार्किङ पूर्वाधार आवश्यक छ”– उनले भने । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै थप पार्किङ स्थल, स्पष्ट संकेत र कडाइका साथ नियम कार्यान्वयन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?