Butwal Today

इम्प्लान्ट लगाएपछि सुत्केरीको ज्यान गयो

मृतकका आफन्तले स्वास्थ्य परीक्षण नै नगरी इम्प्लान्ट लगाएको कारण मृत्यु भएको दाबी गर्दै उचित न्यायको पर्खाइमा रहेको छ ।
११ बैशाख २०८३, शुक्रबार
अ+
अ-

बुटवल  । पाल्पाको तिनाउ गाउँपालिका–२ स्थित दोभान स्वास्थ्य चौकीमा परिवार नियोजनका लागि इम्प्लान्ट लगाएकी एक सुत्केरी महिलाको मृत्यु भएको छ ।

इम्प्लान्ट लगाएकी महिलाको मृत्यु भएपछि घटनाको कारणबारे अनेक आशङ्काहरू गरिएको छ । ४० दिनकी सुत्केरी तथा तीन सन्तानकी आमा चमेली सारूको अचानक मृत्यु भएपछि परिवार शोकसँगै न्यायको प्रतीक्षामा छ ।

परिवारका अनुसार, चमेली सारू आमासँगै स्वास्थ्य चौकी पुगेकी थिइन् । त्यहाँ परिवार नियोजन अन्तर्गत इम्प्लान्ट राखिएको केही समयमै उनलाई रिङ्गटा लाग्ने, शरीर असहज हुने र अचानक बेहोस हुने समस्या देखिएको उनका मामा प्रितम थापाले बताए ।

अवस्था बिग्रिएपछि उनलाई तत्कालै बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल पु¥याइएको थियो । थापाका अनुसार अस्पताल पुग्ने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

तर केही समयपछि नाकबाट रगत बगेको देखिएपछि परिवार थप सशंकित बनेको उनले बताए । “अस्पतालले मृत घोषणा ग¥यो, तर पछि रगत बग्न थाल्यो । यसबारे सोध्दा पनि स्पष्ट जवाफ पाएनौँ,” उनले गुनासो गरे ।

परिवारले इम्प्लान्ट लगाउने क्रममा आवश्यक स्वास्थ्य परीक्षण नगरिएको र त्यसकै कारण जटिलता आएको हुनसक्ने आशङ्का व्यक्त गरेको छ । मृतकका ससुरा मानबहादुर सारुले पनि स्वास्थ्य चौकीको प्रक्रियाप्रति प्रश्न उठाउँदै छानबिनको माग गरेका छन् । “स्वास्थ्य परीक्षण बिना इम्प्लान्ट राखियो, त्यसपछि यस्तो घटना भयो,” उनले भने ।

साथै, सानो नाबालकसहित तीन छोरीको भविष्यबारे चिन्ता व्यक्त गर्दै उनले सत्य तथ्य सार्वजनिक गर्न आग्रह गरे ।
“गरिबलाई चिन्ता माथि चिन्ता थपियो”, मानबहादुरले भने । उनले बुहारी मृत्युबारे सत्य तथ्य सार्वजनिक गरेर आफूहरूलाई न्याय दिन आग्रह गरे ।

यता, परिवार नियोजन संघ पाल्पाका प्रमुख शोभाकान्त न्यौपानेले भने इम्प्लान्टका कारण यति छिटो ज्यान जाने सम्भावना अत्यन्तै कम हुने बताएका छन् । उनका अनुसार, घटनाको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र स्पष्ट हुने बताइएको छ ।

त्यस्तै, दोभान स्वास्थ्य चौकी प्रमुख ठाकुर कुँवरले अनुभवी अनमीमार्फत इम्प्लान्ट लगाइएको दाबी गर्दै मानवीय त्रुटिको सम्भावना नदेखिएको बताए । उनले विश्वव्यापी रूपमा इम्प्लान्ट सुरक्षित मानिने भएकाले यसले तुरुन्तै मृत्यु गराउने घटना दुर्लभ हुने उल्लेख गरे ।

तिनाउ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले पनि इम्प्लान्टकै कारण मृत्यु भएको निष्कर्ष निकाल्न नसकिने भन्दै पोस्टमार्टम रिपोर्टपछि मात्र वास्तविकता स्पष्ट हुने बताए ।

घटनापछि शोकमा डुबेको परिवारले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी दिएको छ । परिवारले निष्पक्ष छानबिन गरी दोषी भए कारबाही र न्याय सुनिश्चित गर्न माग गरेको छ ।

अहिले सम्पूर्ण ध्यान पोस्टमार्टम रिपोर्टतर्फ केन्द्रित भएको छ, जसले घटनाको वास्तविक कारण उजागर गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?