Butwal Today

रुद्रवेणी‐वामीटक्सार‐खरबाङ् सडक आजदेखि पुनः अवरुद्ध हुने

९ बैशाख २०८३, बुधबार
अ+
अ-

 गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने रुद्रवेणी–वामीटक्सार–खरबाङ् सडकखण्ड आजदेखि पुनः अवरुद्ध हुने जनाएको छ ।

उक्त सडकखण्ड अन्तर्गत सत्यबती गाउँपालिका स्थित सिस्ने भिर क्षेत्रमा गत माघ २६ गतेदेखि सडक स्तरोन्नति गर्ने काम भइरहेको हुँदा वैशाख ९ देखि २० गतेसम्म चौबीसै घण्टा सडक बन्द हुने जनाएको हो ।

सडक डिभिजन कार्यालय पाल्पाले राष्ट्रिय राजमार्ग अन्तर्गत अति संवेदनशील र साँघुरो स्थान सिस्ने भिरमा सडक चौडा गर्ने प्रयोजनका लागि कटिङ्गको काम तीव्र रूपमा भइरहेको जनाउँदै वैशाख २० गतेदेखि उक्त काममा सहजिकरणका लागि जिल्ला प्रशासन कार्यालय गुल्मीलाई समन्वयका लागि आग्रह गरेको थियो ।

सवारी साधनका लागि वैकल्पिक सडकका रूपमा सोता–तल्लोरोड–रुपाकोट–दोकुवा–सालघारी–चोरकाटे र मजुवा–दम्का–रुपाकोट–म्यालपोखरी–चोरकाटे भित्री सडक प्रयोग गर्न सकिने जनाइएको छ ।

उक्त कार्यमा आवश्यक सहयोग तथा सहजीकरणको लागि जिल्ला प्रशासन कार्यालयले मुसिकोट नगरपालिका, चन्द्रकोट र सत्यवती गाउँपालिकालाई समेत अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?