Butwal Today

आमा बन्दा किन गुम्छ ज्यान ?

९ बैशाख २०८३, बुधबार
अ+
अ-

बुटवल । सामाजिक सञ्जालमा पछिल्ला दिनहरूमा सुर्खेतकी भावना विष्टको तस्बिर र श्रद्धाञ्जलीले भरिएका पोस्टहरू भाइरल भइरहेका छन् ।

सन्तान जन्माए लगत्तै ज्यान गुमाएकी उनको मृत्युले धेरैलाई स्तब्ध बनाएको छ । उनको कोखबाट जन्मिएकी नवजात छोरी र चार वर्षका छोराको प्रतीक्षाले यो पीडा झन् गहिरो बनाएको छ । धेरैले अस्पतालको लापरबाहीलाई दोष दिँदै छानबिनको माग गरिरहेका छन् ।

भावनाको घटना सेलाउन नपाउँदै बुटवलमा अर्को दुःखद घटना दोहोरियो । पाल्पाको बगनासकाली गाउँपालिकाकी गीता पाण्डे गर्भसम्बन्धी उपचारका क्रममा विभिन्न क्लिनिक धाउँदा अन्ततः ज्यान गुमाउन बाध्य भइन् ।

प्रारम्भमा खत्री नर्सिङ होममा उपचार थालेकी उनी पछि अन्य क्लिनिक हुँदै लुम्बिनी सिटी अस्पताल पु¥याइए पनि बचाउन सकिएन । घरमा पाँच वर्षका छोरा आमाको प्रतीक्षामा छन् ।

यस्ता घटना नयाँ होइनन् । गत वर्ष रुपन्देहीकी सृजना पौडेलले पनि दोस्रो सन्तान जन्माउने क्रममा ज्यान गुमाएकी थिइन् । उनको ओम महिला तथा बालबालिका अस्पतालमा मृत्यु भएको थियो ।

पौडेलको चिकित्सकको लापरबाहीले निधन भएको परिवारले दाबी गरेका थिए । मृतक पौडेलका श्रीमान् युवराज बेलबासेले आफूहरूले बच्चाको योजना गर्दादेखि नै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श गरेर नै अगाडि बढेको बताएका थिए ।

परिवारले चिकित्सकीय लापरबाहीको आरोप लगाए पनि यस्ता घटनाहरूको गहिरो अध्ययन र समाधान अझै कमजोर देखिन्छ ।

यी त प्रतिनिधि घटना मात्रै हुन् । देशभर हरेक दिन धेरै महिलाहरू सुत्केरी हुने क्रममा ज्यान गुमाइरहेका छन् । विशेष गरी लुम्बिनी प्रदेशमा मातृ मृत्युदर चिन्ताजनक छ । सन् २०२२ को नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण अनुसार, देशभरका मातृ मृत्युमध्ये करिब ३७ प्रतिशत लुम्बिनीमै हुने गरेका छन् ।

यहाँ प्रति एक लाख सुत्केरीमा २०७ जनाको मृत्यु हुने तथ्याङ्क छ, जुन कर्णाली (१७२) र मधेस (१९२) भन्दा बढी हो । बागमती प्रदेशमा भने यो सङ्ख्या ५८ मात्रै छ ।

आखिर किन अझै महिलाहरूले सन्तान जन्माउँदा ज्यान गुमाइरहेका छन् ? आम्दा अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. राजेन्द्र बस्यालका अनुसार गर्भावस्थामा हुने उच्च रक्तचाप (प्रेग्नेन्सी–इन्ड्युस्ड हाइपरटेन्सन) ठूलो जोखिम हो ।

“उच्च रक्तचापले मस्तिष्क, कलेजो र मुटुमा गम्भीर असर पु¥याउँछ, जसका कारण धेरै सुत्केरीको ज्यान जान्छ,” उनले भने । त्यस्तै, अत्यधिक रक्तस्राव, पाठेघरसम्बन्धी जटिलता र दीर्घ रोग पनि प्रमुख कारण हुन् ।

उमेर पनि अर्को महत्त्वपूर्ण पक्ष हो । १८ वर्षभन्दा कम र ३५ वर्षभन्दा बढी उमेरमा सन्तान जन्माउँदा जोखिम बढ्ने डा. बस्याल बताउँछन् । विगतमा शिक्षा र जनचेतनाको कमीले समस्या देखिन्थ्यो भने अहिले जीवनशैली पनि कारक बन्न थालेको छ ।

उनले पहिले पहिले शिक्षा, जनचेतनाको कमी र स्रोत साधनको अभावमा सुत्केरीको मृत्यु हुने गरेकोमा आजभोलि महिलाहरूको विलासीपूर्ण जीवन पनि सुत्केरी समयका लागि घातक बन्दै गइरहेको बताए ।   “विलासी जीवनशैली, असन्तुलित आहार र शारीरिक सक्रियताको कमीले गर्भावस्थामा जटिलता बढाइरहेको छ,” उनले थपे ।
अर्कोतर्फ, ग्रामीण क्षेत्रमा अझै पनि गुणस्तरीय स्वास्थ्य सेवा सहज छैन । समयमै उपचार नपाउनु, विशेषज्ञ चिकित्सकको अभाव र रेफरल प्रणाली कमजोर हुनुका कारण पनि महिलाहरू जोखिममा छन् । सहरका सुविधा सम्पन्न अस्पतालमा समेत लापरबाहीका आरोप उठ्नुले स्वास्थ्य प्रणालीप्रतिको विश्वास कमजोर बनाइरहेको छ ।

समस्या न्यूनीकरणका लागि लुम्बिनी प्रदेश सरकारले ‘सुरक्षित मातृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । नवलपरासी (पश्चिम), दाङ, रुपन्देही, कपिलवस्तु, प्युठान, बाँके र बर्दियामा यो कार्यक्रम लागू गरिएको छ ।

चालु आर्थिक वर्षका लागि ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर कार्यक्रम घोषणा पर्याप्त होइन, कार्यान्वयन प्रभावकारी हुन जरुरी रहेको विज्ञहरू बताउँछन् ।

गीताको मृ*त्यु प्रकरणमा संलग्नलाई कारबाहीको माग

बुटवलमा रहेको विभिन्न मेडिकल क्लिनिकमा उपचारका क्रममा पाल्पाको बगनासकाली गाउँपालिका–२ की गीता पाण्डेको मृत्यु भएको घटनामा संलग्न सबैलाई तत्काल कारबाहीको माग गरिएको छ ।

मृतकका श्रीमान् प्रकाश पाण्डेले मङ्गलवार पत्रकार सम्मेलन गर्दै चिकित्सकको सल्लाहअनुसार नै गर्भपतनका लागि पत्नीलाई बुटवल ल्याइएको भए पनि उपचारकै क्रममा ज्यान गएको बताएका छन् । उनले घटनालाई गम्भीर लापरबाहीको परिणाम भन्दै दोषीमाथि कारबाही र परिवारलाई न्याय दिन आग्रह गरे ।

पाण्डेका अनुसार करिब १२ हप्ताको गर्भमा समस्या देखिएपछि वैशाख ५ गते श्रीमतीलाई लिएर बुटवल आएका थिए । सुरुमा उनलाई खत्री नर्सिङ होम इट्टा भट्टीमा लगिएको र त्यहाँ स्वास्थ्यकर्मीले औषधि प्रयोग गरी गर्भपतन गराउने प्रयास गरिएको उनले बताए ।

त्यसपछि अवस्था सुधार नभएपछि उनलाई बुटवल अस्पताल लाइनस्थित जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि औषधि प्रयोग गरेर उपचार गरिएको तर स्वास्थ्य अवस्था झनै गम्भीर बनेको परिवारको भनाइ छ ।

अवस्था जटिल बनेपछि उनलाई अन्ततः लुम्बिनी सिटी अस्पताल पु¥याइएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गरेको र मृत्युको वास्तविक कारण स्पष्ट नभएको श्रीमान् पाण्डेले बताए । मृतकका परिवारले उपचारमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाहीको माग गरेका छन् ।

उनीहरूले खत्री नर्सिङ होमका डा. डिबी खत्री, जोनल फार्मेसी तथा क्लिनिकका सञ्चालक सन्ध्या बस्नेत र निलम घर्ती, इन्दुलेखा स्वास्थ्य क्लिनिकका सञ्चालक खगेन्द्रप्रसाद पाण्डे तथा चिकित्सक डा. सतिश रूपाखेतीलगायतलाई कारबाही गर्न माग गरेका छन् ।

परिवारले उपचारसम्बन्धी कागजातसमेत जोनल फार्मेसीले लुकाएको दाबी गर्दै प्रमाण नष्ट हुन सक्ने आशङ्का व्यक्त गरेका छन् । उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् । मृतकका आफन्तहरूले मङ्गलवार ती क्लिनिकहरू घेराउ गरी तालाबन्दी समेत गरेका छन् ।

प्रहरीले उपचारा संलग्न भएको भनिएका तीन जनालाई पक्राउ गरेर कारबाही अगाडि बढाएको छ । पक्राउ पर्नेमा खत्री पोलिक्लिनिकका सन्ध्या बस्नेत, जोनल क्लिनिकका निलम घर्तीमगर र इन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तबले पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जानकारी दिए । उनले भने–“यदि घटनामा कसैको संलग्नता देखिए कारबाहीको दायरामा ल्याइने छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?