Butwal Today

क्लिनिकको लापरवाहीले महिलाको मृत्यु,  ३ जना पक्राउ, अनुसन्धान जारी

८ बैशाख २०८३, मंगलवार
अ+
अ-

बुटवल  । पाल्पा बगनासकाली गाउँपालिका वडा नम्बर २ की गिता पाण्डे मेडिकल क्लिनिकको लापरबाहीको कारणले मृत्यु भएको छ ।

पाल्पा देखि बुटवलमा करिब १२ हप्ताको बच्चा पेटमा अस्वस्थ भएको भन्दै गर्भपतनको लागि बुटवलमा आएकी उनको ३ वटा क्लिनिकमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।

बैशाख ५ गते आफ्ना श्रीमान् सहित बुटवल आएकी उनी सुरुवाती चरणमा खत्री नर्सिङ्गहोम (मेडिकल) हल ईट्टाभट्टीमा उपचारको लागि गएकी थिईन् ।

त्यहाँ गर्भपतन गराउनको लागि स्वास्थ्यकर्मीले औषधी चलाएका थिए । त्यसपछि त्यहाँ गर्भपत हुने सम्भावना नभएपछि उनलाई बुटवल हस्पिटल लाइनमा रहेको जोनल फार्मेसी (क्लिनिक) मा लगिएको थियो ।

त्यहाँ पनि उनको उपचार सम्भव नभएपछि सोही स्थानमा रहेको ईन्दुलेखा क्लिनिकमा लगिएको थियो । त्यहाँ पनि उनको औषधी चलाएर गर्भपतन गराउने प्रयास गरिएको पाइएको छ । उनको स्वास्थ्य अवस्थामा गम्भीर समस्या आएपछि अन्तिममा लुम्बिनी सिटी अस्पतालमा लगिएको थियो ।

अस्पतालमा लैजाँदा बित्तिकै उनको मृत्यु भएको  जनाइएको छ । महिलाको अनुभवी तथा वरिष्ठ सोही क्षेत्रका चिकित्सकको सल्लाहका सरकारी निकायमा उपचार गर्नुपर्नेमा नर्सिङ्ग होम, क्लिनिक वा फार्मेसीले लापरबाही तरिकाले औषधी चलाएको पाइएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक निशान्त श्री वास्तवका अनुसार महिलाको मृत्यु भएपछि श्रीमान्ले उचित कारबाहीको लागि प्रहरी कार्यालयमा जाहेरी दर्ता गरेको बताए ।

जाहेरी दर्ता पछि प्रहरीले तत्काल ३ जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । समाचार स्रोतका अनुसार खत्री पोलिक्लिनिकका सन्ध्या बस्नेत, जोनल क्लिनिकका निलम घर्तीमगर, ईन्दुलेखा क्लिनिकका खगेन्द्र पाण्डेलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडी बढाइएको हो ।

बुटवलमा लामो समय देखि अवैध रूपमा गर्भपतन गराउने क्लिनिकहरूको सङ्ख्या समेत ठुलो मात्रामा छ । कतिपय फार्मेसीले समेत नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृत र उचित चिकित्सकको परामर्श तथा सहभागिता विना नै गर्भपतनको कार्य गर्दै आएका छन् ।

मृतक गिता पाण्डेका जेठाजु सन्तोष पाण्डेले बुटवल टुडे सँगको कुराकानीमा जोनल फार्मेसीमा बुहारीको लामो समय देखि उपचार हुँदै आएको र बच्चाको स्वास्थ्य अवस्थामा समस्या छ भनेपछि गर्भपतन गर्ने निर्णय गरिएको जानकारी दिए ।

बुटवल लगायतका स्थानमा अवैध रूपमा खोलिएका फार्मेसी र क्लिनिकमा उपचार गराउने कतिपय महिलाहरूको चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीको कारण अकालमै मृत्यु हुने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?