Butwal Today

गोठबाट सल्किएको आगोले पार्‍यो ३ घर सखाप 

७ बैशाख २०८३, सोमबार
अ+
अ-

सल्यान ।

सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नं, १० खानीगाउँमा सोमबार दिउँसो भएको आगलागीमा तीन घर र एक गोठ पूर्ण रूपमा जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार स्थानीय तेजबहादुर पुनको गोठबाट सुरु भएको आगोले नजिकैका घरहरू समेत सखाप पारेको हो ।

कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक देवराज भट्टराईले दिउँसो करिब १ः३० बजे गोठमा लागेको आगो तीव्र गतिमा फैलिँदा थमन घर्तीको दुई तले तीन कोठे, जीवन पुनको दुई तले चार कोठे र खुमबहादुर पुनको तीन तले चार कोठे खरले छाएका कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए ।

घटनाको जानकारी स्थानीय विमलराज डाँगीले दिउँसो २ बजे प्रहरीलाई गराएका थिए । त्यसपछि अस्थायी प्रहरी पोस्ट बाबियाचौरबाट प्रहरी हवलदार चुकबहादुर रावलको नेतृत्वमा खटिएको टोलीले स्थानीयसँग मिलेर आगो नियन्त्रणमा लिएको थियो । करिब ४ः१५ बजेतिर आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

आगलागीबाट मानवीय वा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरीले पछिल्ला दिनमा बढ्दो आगलागीका घटनाप्रति सजग रहन आग्रह गर्दै खुला स्थानमा आगो बाल्दा तथा खेतबारीमा घाँस, नल वा पराल जलाउँदा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?