Butwal Today

पर्यटक तान्दै ‘रेसुङ्गा पार्क’ 

५ बैशाख २०८३, शनिबार
अ+
अ-

गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै अवस्थित रेसुङ्गा पार्क अहिले आन्तरिक पर्यटकको प्रमुख आकर्षण गन्तव्य स्थल बन्दै गएको छ ।

वरिपरि हरियाली जङ्गल क्षेत्र भित्र जैविक विविधताको संरक्षण गर्दै निर्माण गरिएको यस पार्कले प्राकृतिक सौन्दर्य, शान्त वातावरण र वनभोज स्थलका कारण पर्यटकहरूलाई आकर्षित गरेको हो ।

करिब ३.९६ हेक्टर क्षेत्रफलमा फैलिएको पार्क संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र रेसुङ्गा नगरपालिकाको साझेदारीमा ६ करोडको लागतमा निर्माण गरिएको हो । पार्क निर्माण भएको छोटो समयमै पार्कले उत्साहजनक रूपमा आन्तरिक एवं वाह्य पर्यटकहरूलाई आकर्षित गर्दै गएको छ ।

पार्क प्रवेशका लागि रेसुङ्गा नगरपालिकाले टिकट प्रणाली लागू गरी आन्तरिक रूपमा राजश्व समेत सङ्कलन गरिरहेको छ । पार्क भित्र भ्यूटावर, पिङ, पिकनिक ट्रस, फोटोग्राफी जोन,बालबालिकाका लागि प्ले–जोन, शौचालय तथा टिकट काउन्टर लगायतका संरचना निर्माण गरिएको छ । जसले पार्कको आकर्षणमा थप सौन्द्रर्यता थपेको छ ।

पार्कमा प्रवेशका लागि भिन्ना भिन्नै शुल्क निर्धारण गरिएको छ । जसअनुसार नेपाली नागरिकका लागि ४० रुपैयाँ, ज्येष्ठ नागरिक, विद्यार्थी तथा १५ वर्ष तलका बालबालिकाका लागि २० रुपैयाँ र विदेशी नागरिकका लागि एक सय रुपैयाँ तोकिएको छ ।

पार्कका कर्मचारी नवीन कुँवरका अनुसार हालसम्म करिब २५ हजार जनाले पार्कको प्रत्यक्ष रूपमा अवलोकन गरेका छन् भने त्यसबाट नौ लाख बराबरको राजस्व सङ्कलन भएको बताइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले पार्कले जिल्लामा पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । उनले रेसुङ्गा क्षेत्रको धार्मिक, ऐतिहासिक, पर्यटन र प्राकृतिक महत्वलाई उजागर गर्दै जिल्लामा धेरै भन्दा धेरै आन्तरिक तथा वाह्य पर्यटक भित्राउने उद्देश्यले पार्क निर्माण गरिएको बताए ।

रेसुङ्गा पार्कले तम्घास बजारको चहलपहल बढाउनुका साथै स्थानीय आर्थिक गतिविधिमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । नगरपालिकाले मुख्यमन्त्री नवप्रवर्द्धन कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश सरकार र नगरपालिकाको संयुक्त लगानीमा जिपलाईन र स्काई साइक्लिङ निर्माण गर्न थालेको छ ।

एक करोड २६ लाख लागतमा नुनामारे र गर्जुरा क्षेत्रमा उक्त पुर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसबाट रेसुङ्गा क्षेत्रलाई पूर्ण रूपमा व्यवस्थित गर्दै आकर्षक पर्यटकीय गन्तव्य बनाउने तयारी गरिरहेको नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?