Butwal Today

स्ट्रोबेरीमा भविष्य खोज्दै ‘किसान’ 

२९ चैत्र २०८२, आइतबार
अ+
अ-

नेपालगञ्ज ।  मध्यपहाडी क्षेत्र र चिसो मौसममा मात्र फल्ने भनिएको स्ट्रोबेरी बाँकेको तातो जमिनमा पनि राम्रो उत्पादन हुन थालेको छ ।

४६ डिग्रीसम्म तापक्रम पुग्ने बाँकेमा स्ट्रबेरी खेती सफल हुनु केवल कृषि प्रयोग मात्र होइन, किसानहरूको आत्मविश्वास र परिवर्तनको प्रेरणादायी कथा बनेको छ ।

बाँकेको बैजनाथ, कोहलपुर र खजुरा क्षेत्रमा पछिल्लो समय स्ट्रबेरी खेती विस्तार हुँदै गएको छ । परम्परागत धान–गहुँ खेतीमा सीमित किसानहरू अहिले नगदे बालीतर्फ आकर्षित हुँदै नयाँ सम्भावना खोजिरहेका छन् । यसले केवल आम्दानी मात्र होइन कृषि पर्यटनको ढोका समेत खोलेको छ ।

बैजनाथ गाउँपालिका–१ को च्यामा क्षेत्रमा बसोबास गर्ने शारदा बस्नेतको परिवार यस परिवर्तनको एक उदाहरण बनेको छ । गत वर्ष परीक्षणका रूपमा सुरु गरेको स्ट्रोबेरी खेतीले अपेक्षाभन्दा राम्रो नतिजा दिएपछि उनीहरूको जीवन नै बदलिएको छ ।

“पहिले धान–गहुँ लगाउँदा दैनिक खर्च धान्न पनि गाह्रो हुन्थ्यो, अहिले यही खेतीले हातमै पैसा आउँछ,” शारदा मुस्कुराउँदै भन्छिन् । उनीसँग रहेको ७ कठ्ठा जमिनमा सुरु गरिएको स्ट्रोबेरी खेतीले आज परिवारलाई आत्मनिर्भर बनाएको छ ।

वर्ष भरी खान लाउनसँगै दुई छोरी र एक छोराको पढाइ खर्चसमेत यही खेतीबाट धानिएको छ । पहिले दुई चार पैसाको लागि उनको दम्पती मजदुरी गर्न परेको थियो भने अहिले दुवैजना स्ट्रोबेरी खेतीमै रमाएका छन् ।

सुरुवातमा ६ लाख ऋण लिएर जोखिम उठाएको बस्नेत परिवारले पहिलो वर्षमै करिब १० लाख आम्दानी गर्न सफल भयो । भारतबाट प्रति बिरुवा ४५ रूपैयाँका दरले ९ हजार बिरुवा ल्याएर रोपिएको स्ट्रोबेरीले राम्रो उत्पादन दिएपछि यस वर्ष उनीहरूले आफैँ बिरुवा उत्पादन गरेर खेती गरेका छन् । अहिले बाहिरबाट थोरै मात्र बिरुवा किन्नुपरेको छ, शारदा भन्छिन् ।

स्ट्रोबेरी खेतीको अर्को विशेषता यसको छिटो उत्पादन हो । रोपेको तीन महिनामै फल दिन थाल्ने यो बाली किसानका लागि आकर्षक बनेको छ । बजारमा प्रति किलो ५ सयदेखि ७ सय रुपैयाँसम्म मूल्य पाइने भएकाले यसलाई नगदे बालीका रूपमा लिन थालिएको छ । शारदाका श्रीमान् सर्पराज बस्नेत भन्छन्, “करिब ३ लाख लगानीमा २० क्विन्टल उत्पादन गर्न सकिन्छ, जसबाट १० लाखसम्म आम्दानी सम्भव छ ।”

तर सफलता सँगसँगै चुनौती पनि छन् । यस वर्ष चैते वर्षाका कारण पाकेका फल कुहिएर नोक्सान भएको शारदा बताउँछिन् । “गत वर्ष १५ क्विन्टल बेच्यौँ, यस वर्ष भने हाल सम्म पाँच क्विन्टल सम्म विक्री गरेका छौँ,” उनी भन्छिन् । मौसमको अनिश्चितताले उत्पादनमा असर पार्ने गरेको अनुभव उनले सुनाइन् ।

यद्यपि, यस खेतीले गाउँमा नयाँ रौनक ल्याएको छ । पहिले बिक्रीका लागि सुर्खेतसम्म पठाउनुपरेको स्ट्रबेरी अहिले घरमै बिक्री हुने गरेको छ । सामाजिक सञ्जालमा लोकप्रिय बनेसँगै दैनिक रूपमा आगन्तुकहरू खेतमै पुगेर स्ट्रबेरी टिप्ने, फोटो खिच्ने र भिडियो बनाउने क्रम बढेको छ । यसले कृषि पर्यटनको सम्भावना समेत उजागर गरेको छ ।

कोहलपुरका हेमन्त थापाले पनि गत वर्षको सफलतापछि यस वर्ष खेती विस्तार गरेका छन् । दुई हजार बिरुवाबाट सुरु गरेका उनले यस वर्ष ९ हजार बिरुवा रोपेर गत माघ देखिनै फल विक्री गरिरहेकाछन् ।

किसानहरूका अनुसार स्ट्रोबेरी खेतीले नयाँ सम्भावना देखाए पनि प्राविधिक ज्ञानको अभाव चुनौती बनेको छ । रोग–किरा लाग्दा तुरुन्त समाधान नपाउने समस्या रहेको उनीहरू बताउँछन् । “अनुदानभन्दा पनि समयमै प्राविधिक सहयोग चाहिन्छ,” किसानहरूको माग छ ।

बाँकेमा सुरु भएको यो नयाँ खेती केवल आम्दानीको माध्यम मात्र होइन, परम्परागत सोचबाट बाहिर निस्केर सम्भावनाको खोजी गर्ने प्रेरणा बनेको छ । तातो जमिनमा चिसो फल फुलाउने किसानहरूको यो यात्रा धेरैका लागि उदाहरण पनि बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?