Butwal Today

आर्थिक समृद्धिका लागि निजी क्षेत्रको भूमिका निर्णायक हुन्छः राष्ट्रपति

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

राष्ट्रपति रामचन्द्र पौडेलले देशका आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सरकार र निजी क्षेत्रले सहकार्य गर्नुपर्ने जोड दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७५औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले आर्थिक समृद्धिको मूल आधार व्यापार–व्यवसाय, उद्योगधन्दाको प्रवद्र्धनमा सरकार–निजी क्षेत्र साझेदारी हुनुपर्ने बताएका हुन् ।

राष्ट्रपतिले आर्थिक समुद्धिबाट नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहज हुने भएकाले जनताले चाहेको विकास र समृद्धिका निम्ति एकताबद्ध भएर अघि बढ्न सम्बद्ध सबैलाई आह्वान गरे ।

राष्ट्रपति पौडेलले भने, “मुलुकलाई एउटा जटिल परिस्थितिबाट निकास दिन सफलतापूवर्क सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट स्थापित संसद् र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धिको मार्गमा अग्रसर हुन मार्गप्रशस्त भएको छ । झन्झटरहित सेवा प्रवाह, जनताको जीवनस्तर उकास्ने आर्थिक विकासका योजना कार्यान्वयनलगायत राष्ट्रनिर्माणको गहन दायित्व भएको वर्तमान सरकारले निजी क्षेत्रको साझेदारीमा आर्थिक विकासलाई अघि बढाउने जनअपेक्षा छ ।”

राजनीतिक स्थायित्व आर्थिक समृद्धिको आधार भएको उल्लेख गर्दै उहाँले स्पष्ट नीति र दिगो रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जना हुने भएकाले स्वदेशमा नै कामको अवसर उपलब्ध गराउनु अहिलेको आवश्यकता हो भने । “आजका युवा देशका भविष्य हुन्, उनीहरूलाई स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सकेमा देशलाई समृद्धिको मार्गमा दोहो¥याउन सहज हुन्छ,”राष्ट्रपति पौडेलले भने । साथै उनले सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

“आजको प्रतिस्पर्धात्मक युगमा हामीलाई परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता, नवप्रवर्तन र साहसिक निर्णय आवश्यक छन्, डिजिटल अर्थतन्त्र, हरित विकास, प्रविधिमा आधारित उद्यमशीलता र स्टार्टअप संस्कृतिको विकास आजको आवश्यकता हो”, राष्ट्रपति पौडेलले भने ।

निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा नभई राष्ट्र निर्माणको साझेदारका रूपमा लिनुपर्ने बताए ।

मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवद्र्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा चेम्बरले निर्वाह गरेको भूमिकाको राष्ट्रपतिले सराहना गरे ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले निजी क्षेत्र र सरकारबीच समन्वय नहुँदा अपेक्षाकृत अर्थतन्त्रको विकास हुन नसकेको बताउँदै सुधारका धेरै क्षेत्र रहेको बताए । उनले देशको अर्थतन्त्र उकास्न सरकारसँग निरन्तर सहयोग एवं समन्वय गर्दै आएको बताए । सरकार तथा निजी क्षेत्रबीच चेम्बरले सेतुको भूमिका निर्वाह गरिरहेको उनको कथन थियो ।

वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले प्रविधिमा आधारित व्यवसायलाई प्रोत्साहन गरी युवालाई नवप्रवर्तनमा लाग्न प्रेरित गर्नुपर्ने बताए । विदेशी लगानी भित्र्याउन अनुकूल वातावरण निर्माण गर्न आवश्यक भएको उल्लेख गर्दै उनले देशमा अब राजनीतिक स्थायित्व कायम भएकाले औद्योगिक विकास हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?