© 2026
सिद्धार्थनगर ।
प्रदेशस्तरीय बुद्धिचाल प्रतियोगिताका लागि काशी नोबल एकेडेमीका चार विद्यार्थी छनोट भएका छन् । जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयका विद्यार्थीहरूले छात्रातर्फ प्रथम र छात्रतर्फ दोस्रो स्थानसहित विभिन्न स्थान हासिल गर्न सफल भएका हुन् ।
प्रतियोगितामा छात्रातर्फ बीना चौरसियाले जिल्लामा प्रथम स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएकी छन् । त्यसैगरी छात्रतर्फ रिजन थापा मगरले दोस्रो स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगितामा स्थान सुरक्षित गरेका छन् ।
यस्तै, छात्रतर्फ रोनिश केसीले पाँचौँ स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका छन भने छात्रातर्फ कोमल चौरसिया जिल्लामा छैटौँ स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि वैकल्पिक खेलाडीका रूपमा छनोट भएकी छन् ।
बुद्धिचाल प्रतियोगितामा विद्यार्थीहरूले हासिल गरेको यस सफलताले विद्यालयलाई गौरवान्वित बनाएको बिधालयको भनाइ छ । प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरूलाई विद्यालयले सम्मान गर्दै उनीहरूको प्रतिभा, मेहनत र उपलब्धिको प्रशंसा गरेको छ । विद्यालयले विद्यार्थीहरूको मनोबल उच्च बनाउँदै आगामी प्रतियोगितामा अझ उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गरेको छ ।
काशी नोबल एकेडेमीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासलाई प्राथमिकतामा राख्दै शैक्षिक गतिविधिसँगै विभिन्न अतिरिक्त क्रियाकलाप, खेलकुद, बौद्धिक प्रतियोगिता तथा प्रतिभा विकासका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यस्ता गतिविधिले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास, अनुशासन, सिर्जनशीलता तथा प्रतिस्पर्धात्मक भावनाको विकास गर्न सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
विद्यालयका प्राचार्यले बुद्धिचाल प्रतियोगितामा विद्यार्थीहरूले हासिल गरेको उपलब्धिप्रति खुसी व्यक्त गर्दै उनीहरूलाई बधाई दिएका छन् । उनले विद्यार्थीहरूको मेहनत, लगनशीलता र निरन्तर अभ्यासले विद्यालयलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी प्रदेशस्तरीय प्रतियोगितामा पनि उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गरेका छन् । साथै, विद्यार्थीहरूको प्रतिभा पहिचान, विकास र प्रोत्साहनका लागि विद्यालयले आगामी दिनमा पनि अतिरिक्त क्रियाकलाप तथा खेलकुदलाई प्राथमिकताका साथ अघि बढाउने बताएका छन् ।
प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको छ ।