Butwal Today

पालिका टप्ने विद्यार्थीलाई ‘लाखौँको माला’

२७ चैत्र २०८२, शुक्रबार
अ+
अ-

रोल्पा  । रोल्पाको एक विद्यालयले चालु शैक्षिक सत्रमा पालिका टप गर्ने आफ्ना विद्यार्थीलाई पैसाको माला लगाएर सम्मान गरेको छ ।

जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नं. ३ रुइनिवाङमा रहेको रोल्पा सनलाइट बोर्डिङ स्कुलले उत्कृष्ट अङ्क सहित गाउँपालिकामै पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई यसरी सम्मान गरेको हो ।

सो विद्यालयले एक लाख दश हजार नगद रुपैयाँको माला र अबिर लेपन गरेर ती विद्यार्थीहरूलाई सम्मान गरेको थियो । उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी आर्यन जिसी, एन्जल जी.एम. र सोदिक्षा विष्टले सुनिलस्मृति गाउँपालिका स्तरीय परीक्षामा क्रमशः प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका थिए । सो परीक्षामा आर्यनले ३.८३ जिपिए, एन्जलले ३.८२ जिपिए र सोदिक्षाले ३.८० जिपिए प्राप्त गरेका थिए ।

विद्यार्थीहरूको मेहनतको सम्मान स्वरूप र विद्यार्थीलाई थप हौसला प्रदान होस् भन्ने उद्देश्यले गाउँपालिकामै पहिलो हुनेलाई नगद ५० हजार, दोस्रो हुनेलाई २५ हजार र तेस्रो हुनेलाई १५ हजार नगद पुरस्कार प्रदान गरेर सम्मान गरिएको थियो ।

कक्षा ८ मै अध्ययनरत रही सान्त्वना हुने २ जना शिशिर केसी र सौगात सुनारलाई समेत नगद १०/१० हजार प्रदान गरेर सम्मान गरेको विद्यालयका प्रिन्सिपल मिलन विष्टले जानकारी दिए । विद्यार्थीलाई प्रोत्साहन गर्न विद्यालयले हरेक वर्ष यस्तै सम्मान गर्दै आइरहेको छ ।

यसरी सम्मान गर्दा मेहनत गरेर राम्रो अङ्क ल्याउने विद्यार्थीहरूको उत्प्रेरणा हुनुको साथै आत्मबलसँगै पढाई प्रति थप हौसला हुने प्रिन्सिपल विष्टले बताए । अन्य विद्यार्थीहरूमा पनि राम्रासँग अध्ययन गर्नु पर्छ भन्ने भावनाको विकास हुने भएकाले उत्कृष्ट हुने विद्यार्थीहरूलाई यस्तो खालको सम्मान गरिएको प्रिन्सिपल विष्टले बताए ।

कक्षा ८ को सुनिलस्मृति गाउँपालिका स्तरीय वार्षिक परीक्षामा ८८ दशमलव ८८ प्रतिशत विद्यार्थी उत्तीर्ण गराएर रोल्पा सनलाईट बोर्डिङ स्कुल गाउँपालिकामै पहिलो भएको थियो ।

उक्त विद्यालय २०७५ साल देखि नै गाउँपालिका स्तरीय परीक्षामा शत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै आएको प्रिन्सिपल विष्टले बताए ।

हाल कक्षा ९ सम्म पठनपाठन हुँदै आएको सो विद्यालयमा हाल ७७६ विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा हाल ४१ जना शिक्षकले अध्यापन गर्दै आएको विद्यालयका प्रिन्सिपल विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?