© 2026
बुटवल । बुटवलको थोक बजारमा बेच्न राखिएको हरियो बोडीमा अत्याधिक मात्रामा बिषादी प्रयोग गरेको भेटिएको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा आज बिहानै आएका हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरी परिक्षण गर्दा चितवनबाट ल्याईएको बोडीमा अत्याधिक मात्रामा विषादी प्रयोग भएको पाईएको हो ।
विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलले थोक बजारमा हरियो बोडीको नमुना परिक्षण गर्दा अत्याधिक मात्रामा विषादी भेटिएपछि नष्ट गरेको छ ।
बुटवल उपमहानगरपालिकासँग समन्वय गर्दै विषादी युक्त १२० केजी बोडीलाई डम्पिङ साईडमा लगेर नष्ट गरिएको हो । हरेक दिन थोक बजारमा आउने तरकारी तथा फलफूलको बिहानै विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाले नमुना संकलन गरी परिक्षण गर्दै आएको छ ।
परिक्षण गर्दा चितवनबाट आएको हरियो बोडीमा विषादीको मात्रा अत्याधिक पाईएपछि नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलका नायब प्राबिधिक सहायक राजिब भण्डारीले जानकारी दिए। बोडीमा अर्गानोक फस्टफोरेष्ट समुहको विषादी ९७.०६७ प्रतिशत भेटिएपछि नष्ट गरिएको उनले जानकारी दिए ।
प्राविधिकहरूका अनुसार विशेष गरी ‘अफ सिजन’मा उत्पादन गरिएका तरकारीमा बढी विषादी भेटिने गरेको छ। किसानले विषादी प्रयोग गरेपछि कुर्नुपर्ने ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा ल्याउँदा यस्तो समस्या देखिएको उनीहरूको भनाइ छ।
‘९७.०६७ प्रतिशत भनेको सिधै विषादीको मात्रा होइन, यो इनहिबिसन प्रतिशत हो, जसले शरीरमा उत्पादन हुने इन्जाइमलाई कति प्रतिशत अवरुद्ध गर्छ भन्ने जनाउँछ,’ भण्डारीले भने।
उनका अनुसार शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्म पुगेमा केही दिन क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गरिन्छ। तर ४५ प्रतिशतभन्दा माथि पुगेमा भने त्यस्ता तरकारीलाई अनिवार्य रूपमा नष्ट गरिने गरिएको छ।