Butwal Today

रोल्पाको कोदो काठमाडौँमा

२५ चैत्र २०८२, बुधबार
अ+
अ-

रोल्पा । रोल्पा जिल्लाबाट पहिलो पटक ठुलो परिणाममा कोदो निर्यात गरिएको छ । जिल्लाको लुँग्री गाउँपालिकामा उत्पादित अर्ग्यानिक कोदो निर्यात गरिएको हो ।

लुँग्री सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको आयोजनामा लुँग्री–५ किलाचौरमा ‘कोदो निर्यात कार्यक्रम’ आयोजना गरी त्यहाँ उत्पादित कोदो जिल्ला बाहिर निर्यात गरिएको हो ।

दुर्गम क्षेत्रका कृषकहरूले उत्पादन गरेको रैथाने बालीलाई व्यवसायीकरण गर्दै जिल्लामै पहिलो पटक ठुलो परिमाणमा कोदो काठमाडौँ पठाइएको हो । रोल्पाको दुर्गम तथा पहाडी भेगमा उत्पादन गरिएको ७ हजार केजी कोदो काठमाडौँ पठाइएको हो ।

सो कोदोको कुल मूल्य ४ लाख ८६ हजार ७ सय ४५ रुपैयाँ रहेको लुँग्री सामाजिक उद्यमी महिला सहकारी संस्थाले जनाएको छ । कोदो निर्यातले स्थानीय कृषकहरूमा नयाँ उत्साह थपिएको सहभागीहरूले बताएका छन् ।

गाउँपालिका अध्यक्ष भरत कुमार थापाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नु नै गाउँपालिकाको मुख्य लक्ष्य रहेको बताए । “हाम्रो पहाडी माटोमा फल्ने कोदो स्वास्थ्यका लागि अत्यन्तै लाभदायक छ, यसलाई उचित रूपमा बजारीकरण गर्न सके कृषकहरूको आर्थिक स्तरमा ठुलो सुधार आउने निश्चित छ”, अध्यक्ष थापाले भने ।

गाउँपालिकाले आगामी दिनमा पनि यस्ता निर्यातमुखी कार्यक्रमहरूलाई निरन्तरता दिँदै सहकारीसँग समन्वय गरेर अगाडि बढ्ने अध्यक्ष थापाले योजना सुनाए ।

गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङले महिलाहरू सङ्गठित भई सहकारीमार्फत कृषि व्यवसायमा सक्रिय भएकोमा खुसी व्यक्त गरिन् । “महिला उद्यमीहरूले गरेको यो प्रयासले रोल्पाको कोदोलाई देशको राजधानीसम्म पु¥याउन सफल भएको छौ”, उनले भनिन् । यसले लुँग्री गाउँपालिकाको पहिचानलाई अझ उचाइमा पु¥याएको उपाध्यक्ष गुरुङले बताइन् ।

महिलाहरूको सहभागिता र नेतृत्वमा भएका यस्ता कार्यक्रमहरूले ग्रामीण अर्थतन्त्रलाई मजबुत बनाउने विश्वास लिइएको छ ।
स्थानीय जातका बालीहरूको संरक्षण गर्दै तिनलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी बजारमा पु¥याउन सके कृषकहरूले बिचौलियाबाट ठगिनु नपर्ने अवस्था सिर्जना हुने लुँग्री गाउँपालिका कृषि शाखा प्रमुख भुपेन्द्र पाण्डेको भनाइ छ । “कृषकहरूलाई आवश्यक तालिम, बीउ तथा प्राविधिक सहयोग हस्तान्तर गरेर उत्पादन वृद्धि गर्न सकिने सम्भावना रहेको छ”, पाण्डेले भने ।

लुँग्री सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष भूमिका विष्टले कोदो सङ्कलनदेखि निर्यातसम्मको यात्रा सहज नभएको अनुभव सुनाइन् । “हामीले ७० क्विन्टल कोदो निर्यात गरेर कृषकहरूको हातमा झन्डै पाँच लाख रुपैयाँ पु¥याउन सफल भएका छौँ, यो त सुरुवात मात्र हो”, उनले भनिन ।

आगामी दिनमा यसलाई अझै ठुलो परिमाणमा विस्तार गर्ने योजना सुनाइन् ।”स्थानीय सरकार, कृषक तथा सरोकारवालाहरूको सहकार्य बिना यस्तो उपलब्धि सम्भव हुने अध्यक्ष विष्टको भनाइ छ ।

लुँग्री गाउँपालिका कोदो उत्पादनका लागि उर्वर मानिन्छ । स्थानीय कृषकहरूका अनुसार विगतमा कोदो उत्पादन गरे पनि बजारको अभावका कारण उचित मूल्य पाउन कठिन हुने गरेको थियो । तर सहकारी संस्था मार्फत सङ्कलन, प्रशोधन तथा बिक्री वितरणको व्यवस्था भएपछि अहिले उत्पादनले उचित मूल्य पाउन थालेको छ । यसले कृषकहरूलाई थप उत्साहित बनाएको छ र आगामी दिनमा उत्पादन बढाउने योजना बनाइएको छ ।

यसलाई दीर्घकालीन रूपमा निरन्तरता दिन सके रोल्पाको कोदो देशभर चिनिने मात्र नभई अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने सम्भावना रहेको स्थानीय खुमबहादुर सुनार बताउँछन् । “यस अभियानलाई थप विस्तार गर्दै लुँग्री गाउँपालिकालाई अर्ग्यानिक उत्पादनको केन्द्रका रूपमा विकास गर्नु पर्छ”– उनले भने ।

स्वास्थ्यकर्मीका अनुसार कोदोमा प्रोटिन, फाइबर तथा विभिन्न खनिज तत्वहरू प्रशस्त मात्रामा पाइने भएकाले स्वास्थ्यका लागि लाभदायक मानिन्छ । पछिल्लो समय अर्ग्यानिक तथा परम्परागत बालीप्रति बढ्दो आकर्षणका कारण कोदोको माग बजारमा बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?