© 2026
बाँके । नयाँ–नयाँ कृषि प्रविधिको प्रयोगसँगै किसानको काम गर्ने तरिका मात्रै होइन, समय र लागत दुवैमा ठुलो परिवर्तन आएको छ ।
पहिले महिनौँ लाग्ने खेतीपातीका काम अहिले घण्टामै सकिन थालेपछि किसानहरूलाई ठुलो राहत मिलेको छ । तर यससँगै केही नयाँ चुनौती पनि देखिन थालेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका–६ का किसान जितबहादुर थारुका अनुसार गहुँ काट्न पहिले महिनौँ लाग्थ्यो । “अहिले मेसिन प्रयोग गर्दा एक घण्टामै काम सकिन्छ,” उनले भने, “पहिलेको तुलनामा अहिले आधाभन्दा कम मेहनत गर्नुपर्छ ।” तीन बिघा जमिनमा गहुँ खेती गर्दै आएका थारुका लागि प्रविधिले समय बचतसँगै श्रम पनि घटाएको छ ।
पहिले किसानहरू हातैले वा परम्परागत तरिकाले खेती गर्दा दिनभरि काम गर्दा पनि धेरै काम बाँकी रहने अवस्था थियो । विशेष गरी धान, गहुँ जस्ता बाली काट्न निकै समय लाग्ने भएकाले उत्पादन व्यवस्थापनमा समेत समस्या हुने गरेको थियो ।
तर कृषि मेसिनरीको विकाससँगै अहिले एक दिनमै धेरै काम सम्पन्न गर्न सकिने अवस्था आएको किसानहरू बताउँछन् ।
बाँकेको खुजुरा गाउँपालिकाका किसान लालबहादुर खत्री विगत १५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । उनका अनुसार प्रविधिको विकासले खेतीलाई व्यावसायिक बनाउने बाटो खोलेको हो । “पहिले खेती गरे पनि व्यावसायिक रूपमा थिएन,” उनले भने, “प्रविधि आएपछि कम समय र लागतमा उत्पादन गर्न सकिने भएपछि व्यावसायिक खेतीतर्फ लागेँ ।”
त्यस्तै, डुडुवा गाउँपालिका–६ का किसान जयपाल मौर्याले प्रविधिबिनाको खेती कल्पना गर्न पनि कठिन भएको बताए । उनले करिब २० बिघा जमिनमा तरकारी, धान, मकै र आलु खेती गर्दै आएका छन् । “मेसिन नभएको भए यति ठुलो क्षेत्रफलमा खेती सम्भव हुने थिएन,” उनले भने, “अहिले रोपाइँदेखि कटाइसम्म सबै काम मेसिनबाटै गर्छौँ ।”
पहिले गोरु र भैँसी प्रयोग गरेर खेत जोत्दा धेरै समय लाग्ने र समयमै रोपाइँ गर्न नसक्दा उत्पादनमा समेत असर पर्ने गरेको थियो । अहिले आधुनिक उपकरणको प्रयोगले कम समयमा धेरै उत्पादन सम्भव भएको किसानहरू बताउँछन् । यसले कृषि पेसामा आकर्षण पनि बढाएको छ ।
तर प्रविधिको प्रयोगले केही नकारात्मक पक्ष पनि ल्याएको किसानहरूको अनुभव छ । अत्यधिक मेसिन प्रयोगले मानिसको श्रम क्षमता घट्दै गएको र खर्च बढ्ने समस्या देखिएको मौर्याको भनाइ छ । “आफैँले गर्न सकिने काममा पनि मेसिन प्रयोग हुँदा खर्च बढेको छ,” उनले भने, “यसले स्वास्थ्यमा पनि असर पार्न थालेको छ ।”
त्यसै गरी, पशुपालन घट्दै जाँदा खेतको उर्वराशक्ति पनि कम हुँदै गएको उनीहरूको गुनासो छ । गाई–भैँसीको प्रयोग घट्दा प्राकृतिक मलको अभाव भई माटोको गुणस्तरमा असर परेको किसानहरू बताउँछन् ।
यसरी हेर्दा प्रविधिले कृषि क्षेत्रमा उल्लेखनीय सहजता ल्याए पनि दीर्घकालीन असरबारे सोच्नुपर्ने आवश्यकता देखिएको छ । उत्पादन वृद्धि र समय बचतसँगै माटोको उर्वरता, स्वास्थ्य र लागत व्यवस्थापनमा सन्तुलन कायम गर्नु अहिलेको मुख्य चुनौती बनेको छ ।