Butwal Today

एमाले संसदीय दलको नेतामा थापा चयन, असन्तुष्टि सतहमा

१८ चैत्र २०८२, बुधबार
अ+
अ-

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन्।

एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन् । बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए । उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिएका थिए। प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।

एमालेभित्रै असन्तुष्टि

संसदीय दलको नेता चयनको विषयले एमालेभित्र असन्तुष्टि देखिएको छ। सांसदहरूलाई दबाबमा राखेर नेता चयन गरिएको भन्दै नेताहरूले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्।

बुधबार बसेको संसदीय दलको बैठकले रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको थियो। युवा सांसद सुवाङ नेम्वाङले समेत उम्मेदवारी दिने प्रयास गरेका थिए। तर, उनले समर्थक र प्रस्तावक नै पाएनन्। बादलको पक्षमा उभिन दबाब दिएर संसदीय दलको नेता चयन गरिएको भन्दै असन्तुष्टि देखिएको छ ।

पार्टीका उपमहासचिव योगेश भट्टराईले संसदीय दलको नेता छान्न अनपाइएको तरिका र शैलीले सिंगो पार्टीपंक्तिलाई थप चिन्तित बनाएको बताएका छन् । केहि दिनको समय लिएर पार्टी नेतृत्व र सांसदहरुकाबीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर छान्नु राम्रो नभएको उनको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्–
निर्वाचनबाट पार्टीलाई गंभीर धक्का लागेको, पार्टी र नेतृत्वप्रति व्यापक जनगुनासो रहेको, पार्टी अध्यक्ष स्वयं गिरफ्तारीमा पर्नु भएको समग्रमा हाम्रो आन्दोलनले बहुआयामिक प्रतिकुलताको सामना गरिरहेको वर्तमान अवस्थामा नेकपा एमालेको व्यापक पुनर्गठन मार्फÞत बलियो एकता बनाउदै जनविश्वास जागृत गर्नु पर्ने वेलामा आज नेकपा एमालेको संसदीय दलको नेता छान्न जुन तरिका र शैली अपनाइयो यसबाट सिंगो पार्टीपंतिलाई थप चिन्तित बनाएको छ । केहि दिनको समय लिएर पार्टी नेतृत्व र माननीय सांसदहरुका बीचमा छलफलका माध्यमबाट उच्च स्तरको समझदारीमा पुग्नुको सट्टा सांसदहरूलाई दबाबमा राखेर जे गरियो यो राम्रो भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?