Butwal Today

खोला मिचेर पर्खाल: सिद्धिलक्ष्मी स्टिल विवादमा

१५ चैत्र २०८२, आइतबार
अ+
अ-

नवलपरासी । नवलपरासीको रामग्राम नगरपालिका–१० मा सञ्चालित सिद्धिलक्ष्मी स्टिल प्रालि खोला अतिक्रमणको आरोपमा विवादमा तानिएको छ ।

उद्योगले स्थानीय रक्सहवा खोलाको किनार अतिक्रमण गरी पर्खाल निर्माण गरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन् ।

स्थानीयका अनुसार उद्योगले खोलाको बहाव क्षेत्रमा नै संरचना विस्तार गर्दा सार्वजनिक जग्गा हडपिनुका साथै जल निकास अवरुद्ध हुने जोखिम बढेको छ । यसले वर्षा याममा डुबानको खतरा समेत निम्त्याउन सक्ने भन्दै अतिक्रमण हटाउन उनीहरूले माग गरेका छन् ।

स्थानीय राम नरेश केवटका अनुसार उद्योग सञ्चालकले स्थानीय तहका कर्मचारी, नापी कार्यालय लगायतका निकायसँगको मिलेमतोमा खोलाको जग्गा अतिक्रमण गरेको आरोप छ । “नगरपालिकामा पटक–पटक जानकारी गराउँदा पनि कुनै सुनुवाइ भएन,” उनले गुनासो गर्दै अब आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

उनका अनुसार उद्योगले करिब एक किलोमिटर क्षेत्रमा पर्खाल निर्माण गर्दा खोलाको २ देखि ३ मिटर भूभाग अतिक्रमण गरेको देखिन्छ । यस आधारमा करिब ९ कट्ठा सार्वजनिक जग्गा कब्जा भएको अनुमान गरिएको छ ।

सो क्षेत्रमा प्रतिकट्ठा ७ देखि १० लाख रुपैयाँसम्म पर्ने भएकाले करोडौँको सार्वजनिक सम्पत्ति हडपिएको आशङ्का स्थानीयले गरेका छन् ।

स्थानीयले नापी कार्यालयबाट आधिकारिक नाप जाँच हुनुपर्ने माग गरेका छन् । तर हालसम्म त्यस्तो प्रक्रिया अघि नबढेको उनीहरूको भनाइ छ । पुराना नक्सा गायब पारेर नयाँ ट्रेस नक्सामा समेत चलखेल भएको हुन सक्ने आशङ्का पनि स्थानीयले व्यक्त गरेका छन् ।

यता, वातावरणीय प्रभावबारे पनि चिन्ता बढेको छ । वातावरण बचाउ अभियानका अध्यक्ष रामभवन यादवका अनुसार उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा मिसिँदा जलचर नष्ट हुनुका साथै सिँचाइमा प्रयोग हुने पानीले बालीमा असर परेको छ । त्यस्तै, सो पानी पिउने पशुपक्षीको स्वास्थ्यमा समेत गम्भीर प्रभाव परेको उनले बताए ।

स्थानीय र अभियानकर्मीहरूले सम्बन्धित निकायलाई अतिक्रमण हटाउन आग्रह गर्दै आवश्यक परे आफैँ पहल गर्ने चेतावनी दिएका छन् । “पहिले सम्बन्धित निकायलाई जानकारी गराउँछौँ, अटेरी गरेमा स्थानीयसँग मिलेर खोला सफाइ र अतिक्रमण हटाउने अभियान चलाउँछौँ,” यादवले भने ।

जिल्ला प्रशासन कार्यालयले भने स्थानीयको गुनासोका आधारमा उद्योग व्यवस्थापनसँग पटक–पटक स्पष्टीकरण मागिएको जनाएको छ । तर उद्योगबाट स्पष्ट जवाफ नआएको एक कर्मचारीले बताए । “यदि स्थानीयमा आशङ्का छ भने त्यसलाई स्पष्ट पार्ने जिम्मेवारी उद्योगकै हो,” उनले भने ।

जिल्लामा ठुलो लगानीका उद्योगहरू बढ्दै जाँदा यस्ता समस्या पनि सतहमा आउन थालेका छन् । खोलानाला नजिकै उद्योग स्थापना गर्ने प्रवृत्तिले वातावरणीय तथा सामाजिक जोखिम बढाएको भन्दै सरोकारवालाले समयमै नियमन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?