Butwal Today

लुम्बिनीमा हरियाली अभियान 

१४ चैत्र २०८२, शनिबार
अ+
अ-

लुम्बिनी ।  विश्व शान्तिको केन्द्र मानिने लुम्बिनीलाई अझ हराभरा, स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित ‘लुम्बिनी ग्रिन इनिसिएटिभ’ अभियानलाई तीव्रता दिइएको छ ।

अभियानअन्तर्गत लुम्बिनी क्षेत्रमा १८ हजार नयाँ बिरुवा रोप्ने महत्त्वाकाङ्क्षी लक्ष्य राखिएको छ ।  लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईका अनुसार गुरुयोजनाअनुसार लुम्बिनीको ६० प्रतिशत क्षेत्र हरियाली र ४० प्रतिशत क्षेत्रमा मात्र भौतिक संरचना निर्माण गर्ने प्रावधान रहेको छ ।

पछिल्लो समय घट्दै गएको हरियालीलाई पुनः स्थापना गर्न यो अभियान सञ्चालन गरिएको उनले बताए ।

यस कार्यमा टीएचडी फाउन्डेसन, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष तथा ‘ग्रिन युथ लुम्बिनी’बिच सहकार्य भएको छ । अभियानले लुम्बिनी आउने पर्यटकहरूलाई शान्त, हरियाली र मनमोहक वातावरणको अनुभव गराउने लक्ष्य राखेको छ । विशेष गरी फूल फुल्ने मौसममा थप पर्यटक आकर्षित हुने विश्वास गरिएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजनका अनुसार ‘हरित पार्क सरसफाइ अध्ययन केन्द्र’ को उद्घाटनसँगै नगरलाई हराभरा बनाउने अभियानलाई औपचारिकता दिइएको छ ।

नगरपालिकाका १३ वटै वडामा हरियाली प्रवर्द्धन गर्न सडकका डिभाइडरहरूमा फूल रोप्ने, बगैँचा निर्माण गर्ने तथा प्रमुख सडक खण्डहरू–माझगाउँदेखि महदेवा र पर्सादेखि पडरिया हुँदै बोर्डरसम्म–विशेष रूपमा सुन्दर बनाउने योजना अघि बढाइएको छ ।

रोपिएका बिरुवा र फूलहरूको संरक्षणका लागि दैनिक रूपमा सरसफाइ कर्मचारी परिचालन गरिएको छ । उनीहरूले गोडमेल, सिँचाइ र सरसफाइको जिम्मेवारी सम्हालिरहेका छन् । साथै, फूल तथा बिरुवाको संरक्षणका लागि विभिन्न स्थानमा बुद्धका उपदेश र सचेतनामूलक सन्देशहरू राखिने तयारी गरिएको छ ।

ग्रिन युथ लुम्बिनीका अध्यक्ष अर्जुन कुर्मीका अनुसार अभियानमा लुम्बिनी विकास कोष, नगरपालिका, जिल्ला वन कार्यालय रुपन्देही लगायत विभिन्न सङ्घ–संस्थाको सक्रिय सहभागिता रहेको छ।

उनले वृक्षारोपणले पर्यटकहरूलाई पदयात्राका क्रममा छहारी प्रदान गर्नुका साथै क्षेत्रको प्राकृतिक सौन्दर्य बढाउने बताए । साथै, बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर न्यूनीकरणमा समेत यसले सहयोग पु¥याउने विश्वास व्यक्त गरे ।

हालसम्म संयुक्त प्रयासमा ४०० बिरुवा रोपिइसकेको र ती सबै जोगाउन सफलता मिलेको जानकारी दिँदै उनले आगामी दिनमा १८ हजार बिरुवा रोप्ने लक्ष्य पूरा गर्ने प्रतिबद्धता जनाए ।

अभियानलाई रुपन्देही, कपिलवस्तु (तिलौराकोट), देवदह र रामग्रामसम्म विस्तार गर्ने ‘ग्रेटर लुम्बिनी’ अवधारणा पनि अघि सारिएको छ ।

खाली तथा ऐलानी जग्गा, नदी किनार र सार्वजनिक स्थानमा वृक्षारोपण गरी वातावरण संरक्षण र जैविक विविधता प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।यस अभियानमा स्थानीय युवा समूह, आमा समूह, किशोरी अधिकार मञ्च लगायतका सङ्घ–संस्थाको सहकार्य रहेको छ भने विदेशमा रहेका नेपालीहरूबाट समेत आर्थिक सहयोग जुटिरहेको छ ।

मुख्य उद्देश्य लुम्बिनीलाई स्वच्छ, हराभरा र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई शान्त र आकर्षक अनुभव प्रदान गर्नु रहेको सरोकारवालाहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?