© 2026
सल्यान । जिल्लाको कपुरकोट गाउँपालिका वडा नम्बर, ५ पांग्राङमा गए राति भएको आगलागीबाट एक घर पूर्ण रूपमा नष्ट भएको छ ।
स्थानीय डिलबहादुर बिकको घरमा करिब पौने १२ बजेतिर अचानक आगलागी हुँदा घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएका हुन् ।
आगलागीबाट खाद्यान्न, लत्ताकपडा, रासायनिक मल खाद लगायतका घरायसी सामग्री पूर्ण रूपमा नष्ट भएको छ ।
घटनापछि बिहानै पीडित परिवारको घरमा पुग्नुभएका गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले आगलागीबाट ठुलो क्षति भएको जानकारी दिए । उनका अनुसार स्थानीयवासीले राति नै आगो नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर घरको चारैतिरबाट एकैसाथ आगो फैलिएको कारण नियन्त्रण गर्न सम्भव नभएको बताइएको छ ।
आगलागीबाट लाखौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । यद्यपि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ ।
पीडित परिवारले भने घटनाप्रति शङ्का व्यक्त गर्दै कसैले जानाजान आगो लगाइदिएको हुन सक्ने आशङ्का गरेका छन् । घरको विभिन्न भागबाट एकै पटक आगो सल्किएको देखिएकाले आगजनीको सम्भावना रहेको उनीहरूको भनाइ छ ।
घटनाबारे जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलतर्फ खटिएको जनाइएको छ ।